डेब्यू शृंखलामै कुशलको चौथो अर्धशतक, नेदरल्यान्ड्सलाई २३९ रनकाे चुनौती
युवा ब्याट्सम्यान कुशल भुर्तेलले डेब्यू शृंखलामै चार अर्धशतक बनाएका छन्। शनिबार नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा चौथो अर्धशतक बनाएका हुन्।
त्रिवि क्रिकेट मैदानमा चलिरहेको नेपाल, नेदरल्यान्ड्स र मलेसियाको त्रिदेशीय शृंखलामै कुशलले डेब्यू गरेका थिए। उनले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाएका थिए। जसमा उनले ५ छक्का र ५ चौका प्रहार गरेका थिए। उनी डेब्यू खेलमै ‘प्लेयर अफ द म्याच’ भएका थिए।
त्यस्तै, मलेसियासँगको दोस्रो खेलमा पनि उनले अर्धशतक हानेका थिए। उनले ४१ बल खेल्दै ६१ रन प्रहार गरेका थिए। जसमा उनले ५ छक्का र ३ चाैका फ्याँकेका थिए।
यसैगरी त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाएका थिए। ४६ बल खेलेका उनले १ छक्का र ८ चौका प्रहार गरेका थिए।
यो शृंखलाको चौथो खेलमा मलेसियाविरुद्ध १६ रनमा आउट भएका उनी आज नेदरल्यान्ड्सविरुद्धको खेलमा अर्धशतक प्रहार गर्न पुगेका हुन्।
आजको फाइनल खेलमा उनले ५३ बलमा ७७ रन बनाएका हुन्। जसमा उनका ३ छक्का र ८ चौका समावेश छन्।
कुशलसँगै कुशल मल्लले अर्धशतक प्रहार गरेपछि नेपालले नेदरल्यान्ड्सलाई २३९ रनकाे टार्गेट दिएकाे छ। नेपालले ३ विकेटकाे क्षतिमा २३८ रन बनाएकाे छ। याे नेपालकाे अहिलेसम्मकै उच्च स्काेर हाे।
नेपालका लागि कुशल मल्लले २४ बलमा ५०, दीपेन्द्रसिंह ऐरीले १८ बलमा ४८, ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ सेखले ८ बलमा १६ रन बनाए।