राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको रिक्त पदको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।
गृहमन्त्री रामबहादुर थापा नेकपा (एमाले)मा प्रवेश गरेपछि उनको राष्ट्रिय सभा सदस्य पद रिक्त रहेको छ। रिक्त पदमा ६ जेठमा उपनिर्वाचन हुने भएको छ। त्यसका लागि आयोगले दल दर्ता गर्न आह्वान गरेको हो।
आयोगले सूचना प्रकाशित गरी दल दर्ताका लागि १४ वैशाखसम्म समय दिएको छ। दल दर्ता गर्दा दलको विधान, नियमावली तथा घोषणापत्रसहित कागजात ल्याउन भनिएको छ।
गृहमन्त्री थापा २०ं७४ मा बागमती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचत भएका थिए। सर्वोच्च अदालतको आदेशमा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँतिएपछि उनी एमालेमा प्रवेश गरेका हुन्।
उनलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य मनोनीत गरेका थिए। सांसद नभए पनि ६ महीनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार उनी अहिले पनि मन्त्री छन्।
माओवादीबाट निर्वाचत थापा एमालेमा प्रवेश गरेसँगै उनको सांसद पद गुमेको थियो। राष्ट्रिय सभा सदस्य पद रिक्त रहेको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ। त्यही अनुसार आयोगले ६ जेठमा उपनिर्वाचन तोकेको हो।