राष्ट्रिय सभा उपनिर्वाचन आगामी ६ जेठमा
राष्ट्रिय सभामा रिक्त एक पदमा आगामी ६ जेठमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले ९ वैशाखमा विज्ञप्ति प्रकाशन गरी ६ वैशाखको सरकारको निर्णय अनुसार ६ जेठमा उपनिर्वाचन गर्ने मिति घोषणा गरेको हो।
बागमती प्रदेशको अन्य समूहमा माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापाले दल त्याग गरेको भन्दै माओवादीले संघीय संसद्लाई सूचित गरेपछि उनको पद रिक्त भएको थियो। त्यही पदमा उपनिर्वाचन हुन लागेको हो। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा कुनै सदस्यको पदावधि ६ महीनाभन्दा बढी कायम रहेकाे अवस्थामा पद रिक्त भए ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ।
सरकारले तोकेको मितिमा निर्वाचन आयोगले त्यस्तो रिक्त सदस्यको पद बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था बमोजिम निर्वाचन आयोगको परामर्शमा सरकारले उपनिर्वाचनको मिति तोकेको हो। आयोगले दर्ता भइसकेका राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि १० वैशाखसम्म निवेदन दिन भन्दै सूचना पठाएको छ। आयोगले आजैदेखि उपनिर्वाचन तयारी सम्बन्धी कार्य प्रारम्भ गरेको पनि जनाएको छ।