यी सभामुख, ती सभामुख
५ चैतमा संघीय सरकारका एक र कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए। एकैदिन भएका यी दुई कार्यक्रममा आधारभूत रूपमा एउटा भिन्नता थियो।
संघीय मन्त्रीले शपथ लिएको कार्यक्रम सभामुखले बहिष्कार गरेका थिए भने प्रदेश मन्त्रीहरूको शपथमा सभामुख उपस्थित थिए।
घटना १
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने आइतबारको कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन्। सभामुख बन्नुअघि नेकपा (माओवादी केन्द्र)को सांसद रहेका सापकोटाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद चर्किएपछि सरकारले आयोजना गर्ने महत्त्वपूर्ण कार्यक्रमलाई समेत बेवास्ता गर्ने गरेका छन्। गृहमन्त्री थापाको शपथ ग्रहण पनि सापकोटाले बहिष्कार गरेका हुन्।
गृहमन्त्री थापाले आफ्नो पूर्वपार्टी माओवादी केन्द्र त्यागेकै कारण सभामुख सापकोटाले शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको बुझ्न गाह्रो छैन।
सर्वोच्च अदालतको २३ फागुनको फैसलाबाट नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँतिएपछि गृहमन्त्री थापा एमालेतिर लागे। एमालेमा लागेका थापालाई माओवादीले सांसदबाट पदमुक्त गरेपछि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः गृहमन्त्रीमा नियुक्त गरेका हुन्।
गृहमन्त्री थापाले आफ्नो पूर्वपार्टी माओवादी केन्द्र त्यागेकै कारण सभामुखले शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको बुझ्न गाह्रो छैन।
घटना २
आइतबार नै कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले एमालेका माधव नेपाल समूहका नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको शपथ गराए।
शपथ समारोहमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश सभाका सभामुख राजबहादुर शाही लगायत उपस्थित थिए। गत शुक्रबार पार्टीको ह्विप उल्लंघन गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका चारमध्ये तीन जना मन्त्री बनेका हुन्।
त्यसरी ह्विप उल्लंघन गर्नेहरू सभामुख शाहीकै पूर्वपार्टी नेकपा (एमाले) का सांसदहरू हुन्। तर, आफ्नो पूर्वपार्टीलाई ‘घात’ गर्नेहरूको शपथ ग्रहण कार्यक्रमलाई सभामुख शाहीले बहिष्कार गरेनन्।
‘सभामुखले पदको गरिमा बुझ्नुपर्छ’
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही आफूले शपथ ग्रहण समारोहमा गएर संवैधानिक भूमिका निर्वाह गरेको बताउँछन्। “कुन व्यक्ति मन्त्री बन्यो भन्ने हेरेर शपथ ग्रहणमा जाने वा नजाने निर्क्योल गर्ने छुट यो कुर्सीमा बस्नेलाई छैन,” सभामुख शाहीले हिमालखबरसँग भने, “सभामुखले नै पक्षधरता देखाएपछि त संवैधानिक मर्यादा समाप्त हुन्छ।”
संविधानविद् डा. विपिन अधिकारी सभामुखले नै आफ्नो पदीय मर्यादाको ख्याल गर्दैन भन्ने कुरा संविधानले कल्पना समेत नगरेको बताउँछन्। उनी भन्छन्, “कुर्सीको मर्यादा नै नबुझेको व्यक्ति सभामुख हुन्छन् भनेर संविधानले कल्पना गरेको हुँदैन।”
प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार (४ वैशाखमा) आयोजित सर्वदलीय बैठकमा सभामुख सापकोटाको भूमिकाबारे कडा टिप्पणी गरेका थिए। सापकोटाले ‘दलीय प्रभावमा परेर अलोकतान्त्रिक, स्वेच्छाचारी, अनैतिक र गैरकानूनी’ काम गरेको ओलीको आरोप थियो।
संविधानविद् डा. विपिन अधिकारी सभामुखले नै आफ्नो पदीय मर्यादाको ख्याल गर्दैन भन्ने कुरा संविधानले कल्पना समेत नगरेको बताउँछन्। उनी भन्छन्, “कुर्सीको मर्यादा नै नबुझेको व्यक्ति सभामुख हुन्छन् भनेर संविधानले कल्पना गरेको हुँदैन।”
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पक्षधर नेताहरूले सभामुख सापकोटामाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको इशारामा चल्ने गरेको आरोप लगाउने गरेका छन्।
पूर्वसभामुख दमननाथ ढुंगाना सभामुख सापकोटा यतिबेला ओली र दाहालको राजनीतिक द्वन्द्वको चपेटामा परेको जस्तो देखिएको बताउँछन्। “सभामुख बनेपछि औपचारिक रूपमा पार्टीबाट अलग भएको घोषणा गर्ने चलन छ,” ढुंगाना भन्छन्, “तर पार्टीकै प्रभावशाली नेता सभामुख बन्ने हुँदा कुनै न कुनै रूपमा दलको छायामा परेको देखिन्छ, जुन सही होइन।”
अर्का पूर्वसभामुख तारानाथ रानाभाट पार्टीगत आग्रह–पूर्वाग्रहको आधारमा व्यवहार गर्दा सभामुखजस्तो सम्मानित पदकै अपमान भएको बताउँछन्। उनी भन्छन्, “सभामुख भनेको जनताको वारेसहरूको संस्था हो। त्यत्रो जिम्मेवारी बोकेको संस्थाका प्रमुखले पार्टी नेताले दबाब दियो भन्दैमा खुरुखुरु मानेर बस्ने होइन, संवैधानिक प्रतिष्ठा र गरिमा बचाउनैपर्छ।”