प्रतिनिधि सभा अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।
आज दिउँसो १ बजेबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय भएको एक मन्त्रीले बताए। सरकारको सिफारिशमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले बैठक बोलाउन आदेश दिएको थियो। सर्वोच्चको आदेश अनुसार २३ फागुनमा प्रतिनिधि सभाको बैठक बसेकाे थियाे।
त्यसयता बिजनेस नपाउँदा प्रतिनिधि सभाकाे बैठक औपचारिकता मात्रै सीमित भइरहेकाे थियाे।
आउँदो १५ जेठमा संसद्को बजेट अधिवेशन बोलाउनुपर्ने भएकाले अहिले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको जनाएको छ।