भारतमा थपिए २ लाख ६० हजार संक्रमित, १४ सयको मृत्यु
भारतमा दिनदिनै कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घन्टामा २ लाख ६० हजार संक्रमित थपिएका छन्।
कोरोनाको दोस्रो लहर चलेसँगै दैनिक थपिने संक्रमितको संख्याले नयाँ नयाँ रेकर्ड बनाउँदै गएको छ। पाँच दिनदेखि लगातार दुई लाख संक्रमित थपिँदै आएको भारतमा आज २ लाख ६० हजार ७७८ संक्रमित पुष्टि भएका छन्। यो शनिबारको तुलनामा ११ प्रतिशतले बढेकाे हो।
योसँगै भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख १९ पुगेको छ। त्यस्तै, कुल संक्रमितको संख्या १ करोड ४७ लाख ४२ हजार ४६१ पुगेको छ।
कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ। पछिल्लो २४ घन्टामा १ हजार ४९५ जनाले ज्यान गुमाएका छन्।
गत चार दिनदेखि दैनिक १ हजारभन्दा बढीको मृत्यु हुँदै आएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार १६८ पुगेको छ। अझै ८ हजार ९४४ जना गम्भीर छन्।
पछिल्लो २४ घन्टामा सबैभन्दा बढी महाराष्ट्रमा ६७ हजार १२३ संक्रमित थपिएका छन्। त्यस्तै, दिल्लीमा १९ हजार ४८६, कर्नाटकमा १७ हजार ४८९, छत्तिसगढमा १६ हजार र केरलामा १३ हजार संक्रमित थपिएका छन्।
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा २७ हजार ७३४, बिहारमा ७ हजार ८७०, पश्चिम बंगालमा ७ हजार ७१३ र उत्तराखण्डमा २ हजार ७५७ संक्रमित थपिएका छन्।