भारतमा दोस्रो दिन पनि थपिए २ लाख संक्रमित
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख नाघेको छ। लगातार दोस्रो दिन २ लाखभन्दा बढी संक्रमित पुष्टि भएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ लाख १६ हजार ८५० संक्रमित पुष्टि भएका छन्। बिहीबार २ लाख ७३९ संक्रमित थपिएका थिए।
त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा १ हजार १८३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बिहीबार पनि १ हजार ३८ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ३३५ पुगेको छ।
पछिल्लो २४ घन्टामा सबैभन्दा बढी महाराष्ट्रमा ३४९ जनाको मृत्यु भएको छ। महाराष्ट्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ।
त्यस्तै, महाराष्ट्रमा ६१ हजार ६९५ संक्रमित थपिएका छन्। महाराष्ट्रपछि उत्तर प्रदेशमा २२ हजार ४३९ संक्रमित पुष्टि भएका छन्। त्यस्तै, छत्तिसगढमा १५ हजार २५६ र दिल्लीमा १६ हजार ६९९ संक्रमित थपिएका छन्।
योसँगै भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजार ४२७ पुगेको छ। अहिलेसम्म १ करोड ४२ लाख ८७ हजार ७४० जनामा कोरोना संक्रमण भइसकेको छ।