आफ्नै नेतृत्वमा सरकार बनाउन जसपाकाे पहल
जनता समाजवादी पार्टी (जसपा)ले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने विषयमा छलफल गरेकाे छ।
दुई दिनसम्म चलेको पदाधिकारी बैठकमा सबै नेताहरूले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन जोड दिएका हुन्। “सरकार गठनको विषयले पदाधिकारी बैठकमा औपचारिक प्रवेश पाइसकेको छ,” जसपा अध्यक्ष उपेन्द्र यादवले हिमालखबरसँग भने, “हाम्रै नेतृत्वमा सरकार बनाउने कुरामा सबै नेताहरू सकारात्मक छौं, समय आएपछि औपचारिक निर्णय गर्छौं।”
बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई सहभागी थिए।
जसपा केन्द्रीय कार्यकारिणी समितिका कतिपय नेताहरूले भने सरकार गठनको विषयमा निर्णय गर्ने बेला नै नभएको बताउने गरेका छन्। कार्यकारिणी समितिका सदस्य वृषेशचन्द्र लाल भन्छन्, “वर्तमान सरकार बहुमतमा छ, अहिले अर्को सरकार गठनको विषयमा निर्णय गर्नु धेरै हतार हुन्छ।”
संघीय संसद्को चौथो ठूलो दल जसपाका ३४ सांसद छन्। जसमध्ये दुई जना निलम्बित छन्।
यसअघि नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेकाे थियाे। नेकपा (माओवादी केन्द्र) ले भने प्रधानमन्त्री केपी शर्मा ओलीकाे विकल्पमा सरकारकाे नेतृत्व गर्न कांग्रेसलाई प्रस्ताव गर्दै आएकाे छ।