नेपाली क्रिकेट खस्केको होइन, परिवर्तन नआएको हो : कप्तान मल्ल
राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेटमा परिवर्तन गर्नुपर्ने बेला आएको बताएका छन्।
कप्तान मल्ले नेपाली क्रिकेटको स्तर नखस्केको भए पनि थप उचाइ चुम्न परिवर्तन गर्नुपर्ने बताए। “नेपाली क्रिकेटको स्तर खस्केको भन्दा पनि परिवर्तन नआएको हो,” कप्तान मल्लले भने, “१९ वर्षमुनिबाटै खेलेर आउनु पर्नेमा अहिले अवसर कम भएको छ।”
हिमालमिडियाको भिडिओे म्यागजिन ‘सग्लो समाज’को नयाँ अंक ‘नेपाली क्रिकेट : टेस्टतर्फको यात्रा’का लागि कुराकानी गर्दै कप्तान मल्लले अब उमेर समूहको क्रिकेटमा ध्यान दिनुपर्ने बताए। १९ वर्षमुनिबाटै खेल्ने अवसर प्रदान गर्नुपर्ने बताउँदै उनले भने, “जग बलियो भए मात्र माथि बलियो हुन्छ।”
नेपालमा अरु खेलका तुलनामा क्रिकेट अगाडि छ। नेपालले ‘ओडीआई’ मान्यता पाएपछि अब टेस्टतर्फको यात्राबारे सोच्न थालिएको छ।
नेपालले कसरी टेस्टको मान्यता पाउनसक्छ? यसमा कसले के गर्नुपर्छ? यससम्बन्धी विस्तृत रिपोर्ट आज राति ८ः३० बजे डिसहोमको सरोकार च्यानल १३० मा हेर्न र सुन्न सकिनेछ।