लहानमा गोली हानी सुनचाँदी व्यवसायीको हत्या
लुटेरा समूहले शनिबार राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी व्यवसायीको गोली हानी हत्या गरेकाे छ।
लुटपाट गर्ने उद्देश्यले आएकाे लुटेरा समूहले लहान नगरपालिका–२२ का ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।
गोली लागेर प्रदीपकी पत्नी अमृता विश्वकर्मा घाइते भएकी छिन्। उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मध्यराति आएको समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोजेकाे थियाे। प्रतिकार गर्दा गोली हानी हत्या गरेको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक (डीएसपी) तपनकुमार दाहालले बताए।
विश्वकर्माले वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए।
घटनालगत्तै पुगेको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको डीएसपी दाहालले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।