कोरोनाको जोखिम बढेपछि विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिश
काेराेनाभाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था भौतिक रूपमा सञ्चालन नगर्न सिफारिश गरेको छ।
भारतमा अत्यधिक कोरोना संक्रमित बढेपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई शैक्षिक गतिविधि अनलाइनमार्फत गर्नुपर्ने सिफारिश गरिएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा भारतमा १ लाख ३१ हजार नयाँ संक्रमित देखिएका छन्।
खुला सिमानाका कारण दोस्रो लहरको संक्रमण देखिन सक्ने जनाउँदै भीडभाड हुने कुनै पनि गतिविधि नगर्न अपील गरेको मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। “शैक्षिक संस्था बन्द गर्ने/नगर्ने विषयमा निर्णय गर्ने हामीले होइन,” डा. अधिकारीले हिमालखबरसँग भने, “तर, कोरोनाको पछिल्लो अवस्था अवगत गराएर सीसीएमसीलाई सिफारिश गरेका छौं।”
स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा संक्रमण बढेको जनाउँदै यसअघि नै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। मन्त्रालयद्वारा २५ चैतमा जारी विज्ञप्तिमा भनिएको छ, “हाल राष्ट्रिय प्रयोगशालामा भइरहेको निगरानीमा काठमाडौं, पोखरा लगायतका ठूला शहरहरूमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकाले सम्पूर्ण शैक्षिक संस्थाहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गर्दछ।”
काठमाडौं विश्वविद्यालयले २६ चैतदेखि अनलाइन कक्षा सञ्चालन सञ्चालन गरेको छ।