माओवादीका चार सांसद पद मुक्त भएको क्षेत्रमा ६ महीनाभित्र उपनिर्वाचन
नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित सांसद पदमुक्त भएका चार वटा निर्वाचन क्षेत्रमा ६ महीनाभित्र उपनिर्वाचन हुने निर्वाचन आयोग स्रोतले जनाएको छ।
प्रतिनिधि सभा सदस्यमा कैलाली–३ बाट निर्वाचित गौरीशंकर चौधरी, कैलाली–४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी र रौतहट–३ बाट चुनाव जितेका प्रभु साहको पद बिहीबारदेखि खारेज भएको छ। २३ फागुनमा सर्वोच्च अदालतको फैसलापछि चारै जना नेकपा (एमाले) मा प्रवेश गरेको भन्दै माओवादीले उनीहरूले दलत्याग गरेको सूचना संसद् सचिवालयलाई दिएको थियो।
पद रिक्त भएको आधिकारिक सूचना पाएको ६ महिनाभित्र उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। एक आयुक्त भन्छन्, “बाध्यकारी व्यवस्था त केही छैन, तर ६ महीनाभित्र उपचुनाव गर्ने प्रचलन छ।”
स्थानीय तहमा एक वर्ष र संघीय संसद्मा ६ महिनाभन्दा बढी कार्यकाल बाँकी छँदै पद रिक्त हुँदा उपनिर्वाचन गर्ने व्यवस्था छ। सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर उपनिर्वाचनको मिति घोषणा गर्छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानून र प्रचलित व्यवस्था अनुसार उपचुनावबारे सरकारलाई सल्लाह दिने बताए।