पूर्वमन्त्री एवं कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको गएराति ५७ वर्षको उमेरमा निधन भएको छ।
नेता जोशीको शुक्रबार राति ८ः२४ बजे नर्भिक अस्पतालमा निधन भएको हो। उपचारका क्रममै नेता जोशीको निधन भएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताए।
उनलाई गत १४ फागुन बिहान मस्तिष्कघात भएको थियो। लगत्तै उपचारका लागि वीर अस्पताल लगिएको थियो।
वीर अस्पतालपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो। त्यसयता उनको नर्भिक अस्पतालमा उपचार चलिरहेको थियो।
पूर्वउद्योगमन्त्री समेत रहेका नेता जोशी काठमाडौंमा लोकप्रिय नेता थिए। उनकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो।
विसं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी काठमाडौं क्षेत्र नं. ८ बाट २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। उनी कांग्रेसका केन्द्रीय सदस्य समेत थिए।
नेता जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उनको शव आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ। बिहान १२ बजेदेखि मध्याह्न २ बजेसम्म उनको शव कांग्रेस केन्द्रीय कार्यालयमा राखिने महामन्त्री विश्वप्रकाश शर्माले जनाएका छन्।
नेता जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले दुःख व्यक्त गरेका छन्। सभापति देउवाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिँदै आफू मर्माहत भएको जनाएका छन्।
देउवाले लेखेका छन्, ''नेपाली कांग्रेसका नेता, कुशल संगठक एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनको खबरले निकै मर्माहित भएको छु। जोशीजीको निधनले कांग्रेसले एक इमानदार र निष्ठावान् नेता गुमाएको छ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।''
त्यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता जोशीलाई गुमाउँदा आफू पीडा सहन नसक्ने अवस्थामा रहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ''आम जनताका ढुकढुकी लोकप्रिय नेता जोशीको निधनको खबरले मलाई मर्माहत बनाएको छ। नेपाली कांग्रेसका भरोसायोग्य नेता जोशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउँदा म पीडा सहन नसक्ने अवस्थामा छु। यो दु:खको घडीमा प्रिय नवीन्द्रप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।''