ह्वीलचेयरबाटै मेची-महाकाली
रामबहादुर तामाङ गोलेले ह्वीलचेयरबाट मेचीदेखि महाकालीसम्मको यात्रा २६ दिनमा पूरा गरेका छन्। सो क्रममा उनले एक हजार २८ किमि यात्रा गरे।
उनले झापाको काँकडभिट्टास्थित मेची किनारबाट शुरू गरेको ह्वीलचेयर यात्रा ११ चैतमा पश्चिमी सीमा महाकाली पुगेर अन्त्य गरे। उनले ४२ दिनमा यात्रा सक्ने लक्ष्य राखेका थिए। तर, लक्ष्यभन्दा कम समयमा सकिएकाे भन्दै उनले खुशी व्यक्त गरे।
सडक दुर्घटनामा परेर अपाङ्गता भएपछि उनी ह्वीलचेयरको सहारामा हिँडडुल गर्न थालेका थिए। उनले यसअघि पनि लामो दूरीको ह्वीलचेयर यात्रा गरेका थिए। उनले नमोबुद्धदेखि लुम्बिनीसम्म ३६६ किमि र लुम्बिनीदेखि भारतको बोधगयासम्म ५५३ किमि ह्वीलचेयर यात्रा गरेका थिए।
गोले बुधबार कञ्चनपुर पुग्दा उनको भव्य स्वागत, सत्कार तथा अभिनन्दन भएको थियो। बिहीबार धनगढी विमानस्थलबाट विमानमा काठमाडाैं फर्किनुअघि गोलेले भने, “यात्राभरि हामीले धेरै स्नेह र माया पायौँ। अहिले यात्रा पूरा हुँदा मन साह्रै आनन्दित भइरहेको छ।”
२६ दिने ह्वीलचेयर यात्राको क्रममा गोलेलाई साइकलमा सवार आफन्त मानबहादुर तामाङले साथ दिएका थिए। यात्राको क्रममा पूर्वपश्चिम राजमार्गमा पर्ने विभिन्न शहर तथा बजारमा गोलेलाई विभिन्न संघसंस्थाले स्वागत गरेका थिए। उनलाई १२ चैतमा स्पाइनल कर्ड इन्जुरी नेटवर्कले सम्मान गरेको छ।
दाउन्नेको धूलो र बर्दियाको बाघ
ह्वीलचेयर यात्राका क्रममा दाउन्नेको उकालोमा धूलो र अप्ठेरो बाटोका कारण गोलेले आफूलाई केही गाह्रो भएको बताए। बर्दियाको जंगल नजिक आइपुगेपछि उनीहरूलाई बाघले आक्रमण गर्ने डर भएको थियो। “तर, बर्दिया राष्ट्रिय निकुञ्ज खण्डमा पर्ने राजमार्गमा नेपाली सेनाले सुरक्षा दिएपछि बर्दियाको हाम्रो यात्रा झनै रमाइलो भयो,” उनी भन्छन्।
मेची-महाकाली ह्वीलचेयर यात्रापछि गोले निकै हौसिएका छन्। उनी भविष्यमा अझै ठूलो कीर्तिमान कायम गर्न चाहन्छन्।
बिहीबार काठमाडौँ उड्नुअघि उनले आफू जस्तै अपाङ्गता भएका मानिसलाई दिएको सन्देश निकै प्रेरणादायी छ। उनले भनेका छन्, “हामी ह्वीलचेयरको सहारामा हिँडडुल गर्न बाध्य भएर के भो, हामी सबै काम गर्न सक्छौँ। त्यसैले हामी घरभित्रै खुम्चिएर बस्न हुँदैन। हामी बाहिर निस्कनुपर्छ। आआफ्नो कार्यक्षेत्रमा अघि बढ्नुपर्छ।”
त्यो भयानक बस दुर्घटना
सिन्धुपाल्चोक बलेफीका युवा रामबहादुर तामाङ गोले १० वर्षअघि आफ्नो गाउँ बलेफीबाट चीनसँगको सीमा खासाबजार घुम्न गएका थिए। खासाबाट फर्किने क्रममा उनी चढेको बस काभ्रेको दोलालघाट नजिकै अरनिको राजमार्गको ५४ किलो भन्ने स्थानमा सडकबाट खोलामा खस्यो।
१८ पुस २०६७ मा भएको त्यो दुर्घटनामा परेर गोलेको मेरुदण्डमा चोट लाग्यो। त्यसपछि उनको कम्मरभन्दा मुनिको भाग चल्न छाड्यो। त्यही दुर्घटनामा उनले एउटा आँखा पनि गुमाए।
हाल उनी मेरुदण्डको उपचार तथा पुनःस्थापना गरिने स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर साँगा, काभ्रेमा मनोपरामर्शदाताका रूपमा काम गर्छन्।