यसकारण बढ्दाे छ युवामा नयाँ भेरियन्टको काेराेना संक्रमण
ब्राजिलमा कोरोनाभाइरसको नयाँ भेरियन्टको संक्रमण युवामा धेरै देखिएको छ। यसबाट मृत्यु हुने युवाको संख्या पनि अत्यधिक छ।
कोरोनाभाइरसको संक्रमण देखिएको १० दिनमै २८ वर्षीया ग्रासिने डा सिल्भाको ज्यान गयो। उनी अन्तिम सास लिने वेला ब्राजिलको रियो द जेनेरियो अस्पतालमा एक्लै थिइन्।
उनकी आमा मारिया डा पेन्हा डा सिल्भा सिक्वेरिया भन्छिन्, “उनलाई यस्तो होला भनेर हामीले सोचेकै थिएनौं।’ छोरीले अन्तिम सास लिंदा एक्लै रहेको कुराले उनलाई पिरोलिरहेको छ।
“यो एकदमै हतारमा भयो, कोरोनाले छोरीलाई बिदाइ गर्न पनि दिएन,” सिल्भा सिक्वेरिया भन्छिन्।
डा सिल्भाले ४ वर्षीय छोरालाई छोडेर गएकी छिन्। गत जुनमा ज्यान गुमाउँदा उनको मृत्यु असामान्य थियो। परिवारजनलाई पत्याउन पनि मुस्किल भइरहेको थियो।
त्यति वेला ब्राजिलमा कोरोनाको पहिलो लहर चलिरहेको थियो। त्यस वेला संक्रमण हुने र ज्यान गुमाउने धेरैजसो वृद्धवृद्धा थिए।
तर, नयाँ वर्षदेखि ब्राजिलमा कोरोनाको दोस्रो लहर चलेको छ। यस पटकको संक्रमण अघिल्लो भन्दा खतरनाक देखिएको छ। संक्रमित हुने र मृत्यु हुनेको संख्याले नयाँ रेकर्ड बनाइरहेको छ।
कोरोनाको दोस्रो लहरले झन् चिन्ताजनक परिणाम देखिएको चिकित्सकहरू बताउँछन्। चिकित्सकहरूका अनुसार यस पटक संक्रमण हुने र मृत्यु हुने धेरैजसो युवा छन्।
किन युवा धेरै संक्रमित भइरहेका छन्? के नयाँ भेरियन्टले युवालाई संक्रमित बनाइरहेको हो? के युवाको बानी व्यवहारले नै उनीहरूलाई संक्रमित बनाइरहेको हो?
देशभर सघन उपचार कक्षमा खटिएका चिकित्सकले पनि नयाँ भेरियन्टका कारण बिरामी हुने धेरैजसो युवा रहेको बताएका छन्। “अहिले धेरैजसो युवा बिरामी परिरहेका छन्। विशेष गरेर ३० देखि ५० वर्षका छन्,” रियो द जेनेरियो अस्पतालका डा. पेड्रो आर्चर भन्छन्। नयाँ भेरियन्टको सबैभन्दा ठूलो फरक यही भएको उनी बताउँछन्।
सीएनएनले ब्राजिलका विभिन्न अस्पतालका कैयौं चिकित्सक र नर्सहरूसँग कुराकानी गरेको थियो। उनीहरूले धेरैजसो संक्रमित युवा भएको बताएका थिए। अघिल्लो संक्रमणभन्दा यस पटक आईसीयूमा आउने धेरै युवा रहेको उनीहरूको भनाइ छ।
ब्राजिलको एमेजोनियन शहरस्थित सरकारी अस्पतालका अर्का आईसीयूमा कार्यरत डा.लुअन म्याटोस द मेनेजेस भन्छन्, “पहिलोभन्दा दोस्रो लहरमा संक्रमणबाट गम्भीर बिरामीको संख्या बढेको छ। उनीहरूको अवस्था पनि झन् गम्भीर रहेको छ।”
ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोना सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ। एएफएफले गरेको विश्लेषणमा पछिल्लो तीन महीनामा कोरोनाबाट मृत्यु भएकामध्ये २७ प्रतिशत मानिस ३० देखि ५९ वर्षका छन्। यो गत डिसेम्बरको भन्दा ७ प्रतिशतले बढेको जनाइएको छ।
त्यस्तै, एएफपीले गरेको विश्लेषणमा वृद्धवृद्धाको मृत्युदर घटेको पनि देखिएको छ। पहिलोभन्दा दोस्रो लहरमा वृद्धवृद्धाको मृत्युदर ७ प्रतिशतले घटेको देखिएको हो।
सान पाउलो राज्यको स्वास्थ्य मन्त्रालयले पनि युवा संक्रमित हुने दर बढेको बताएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण देखिएका युवामध्ये ६० प्रतिशतलाई आईसीयूमा राख्नुपरिरहेको छ। यो अघिल्लो लहरको भन्दा बढी भएको जनाएको छ।
युवाको मृत्यु भएको देख्नु चिकित्सकका लागि पनि पीडादायी भइरहेको छ। “युवाले ३० वर्षकै उमेरमा ज्यान गुमाउनु साह्रै दुःखदायी अवस्था हो,” सान पाउलोको आईसीयूमा कार्यरत डा. मारिया डलर्स डा सिल्भा भन्छिन्, “उनीहरूको अगाडि पूरै जीवन बाँकी थियो, तर कोरोनाले लगिरहेको छ।”
विज्ञहरूका अनुसार नयाँ भेरियन्ट सजिलै एकअर्कामा सर्ने गरेको छ। ब्राजिलमै विकसित यो नयाँ भेरियन्ट बेलायत र दक्षिण अफ्रिकाको नयाँ भेरियन्टसँग मिल्दोजुल्दो छ। यसको संक्रमण तीव्र रहेको चिकित्सक बताउँछन्।
यो अघिल्लोभन्दा घातक रहेको पनि विज्ञहरूको भनाइ छ। “नयाँ भेरियन्ट धेरै घातक देखिएको छ, तर यसको यकिन गर्न वैज्ञानिक तथ्यांक भने छैन,” ब्राजिलियन महामारीविज्ञ जेसम ओरेलाना भन्छन्, “तैपनि हामीलाई थाहा भएको एउटा कुरा के हो भने यसको संक्रमण तीव्र हुने गरेको छ।”
विज्ञहरूले नयाँ वर्ष र अन्य बिदाका दिनमा यसको संक्रमण झन् फैलिएको जनाएका छन्। उनीहरूका अनुसार नयाँ वर्ष र बिदाको दिनको पार्टीमा युवा धेरै सहभागी भएकाले संक्रमण फैलिएको हो।
अर्को कुरा, ब्राजिलमा वृद्धवृद्धालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। तर, युवामा खोप लगाइएको छैन। जसले गर्दा पनि वृद्धवृद्धामा संक्रमण र मृत्यु कम भएको र युवामा बढेको विज्ञहरूको भनाइ छ।
कोरोनाबाट २८ वर्षीया छोरी गुमाएकी डा सिल्भा सिक्वेरिया हरेक दिन छोरीको अभाव महसूस गरिरहेको बताउँछिन्। उनले आफ्नी छोरी गुमाएको ९ महिना भए पनि हिजो जस्तै लाग्ने गरेको सुनाइन्।
४ वर्षीय नातिका बोली र व्यवहारले पिरोल्ने गरेको उनी बताउँछिन्। “मेरो नातिले तारा देखाउँदै भन्ने गर्छ- ऊ मेरी आमा,” उनी थप्छिन्, “केही दिनअघि नातिले मेरी बहिनीलाई भन्यो- म आमालाई भेट्न स्वर्ग जान चाहन्छु।” (सीएनएनबाट)