४० वर्षदेखि भारतीय जेलमा रहेका दीपक जोशी छुटे
४० वर्षदेखि भारतीय जेलमा रहेका नेपाली नागरिक दीपक जोशी शनिबार दिउँसो छुटेका छन्।
कोलकाता उच्च अदालतको आदेशमा दीपक छुटेका हुन्। जेलबाट छुटेपछि भारतीय सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै दीपकले भने, “म निर्दोष थिएँ।”
दीपक १५ वर्षयता कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’ मा थिए। उनलाई लिन उनका भाइ प्रकाशचन्द्र शर्मा कोलकाता पुगेका थिए।
कोलकाता उच्च अदालतले पनि दीपकलाई प्रकाशचन्द्रको जिम्मा लगाउन आदेश दिएको थियो। उनी आइतबार नेपाल पुग्नेछन्।
यस्ताे थियाे हिमालखबरकाे रिपाेर्ट
दीपकको परिवार इलामको माई नगरपालिका–१० को लुम्बाक गाउँमा बस्दै आएको छ। दीपक भारतका विभिन्न जेलमा मुद्दाको ट्रायलबिना नै कैदी जीवन बिताउँदै आएको समाचार हिमालखबरमा सार्वजनिक भएपछि भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास र कोलकातास्थित महावाणिज्य दूतावासले उद्धारको पहल गरेको थियो।
इलाममा दीपकको परिवारसँग सम्पर्क भएपछि उनका परिवारका तीन सदस्य उद्धारको पहल गर्न कोलकाता पुगेका थिए। परिवारका सदस्यसँग कुराकानी भएपछि महावाणिज्य दूतावासका कर्मचारीले दीपकलाई उनका परिवारजनसँग भेटघाट गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्दै जेलरलाई पत्र पठाएका थिए।
“हामीले दीपकको परिवारका प्रकाशचन्द्र शर्मा, गोपाल तिमिल्सिना र इन्द्र बस्नेतलाई भेट्न दिनु भनेर अनुरोध गर्यौं, उहाँहरूले भेट्नुभएपछि कोलकातास्थित उच्च अदालतलाई पत्र लेखेर थुनामुक्तको आदेश दिन माग गर्यौं,” कोलकातास्थित महावाणिज्य दूतावासका कन्सुलर जनरल ईश्वरराज पौडेलले भने।
त्यस्तै महावाणिज्य दूतावासको पत्रका आधारमा उच्च अदालतले सुनुवाइ थालेको थियो। २७ फागुनमा सुनुवाइपछि अदालतले तीन पृष्ठको आदेश जारी गर्दै दीपकमाथि अन्याय भएको स्वीकारेको थियो।
त्यसपछि २ चैतमा दोस्रो सुनुवाइ भएको थियो भने ४ चैतमा अदालतले दीपकलाई छाड्ने आदेश दिएको थियो। अदालतले दीपकलाई उनका भाइ प्रकाशचन्द्रको जिम्मा लगाउन आदेश गरेकाे थियो।
कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले दिएको आदेशमा हरेक ६ महीनामा दीपकको मानसिक स्थितिबारे प्रकाशले कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्ने उल्लेख छ। र, महावाणिज्य दूतावासले त्यसको जानकारी अदालतलाई दिनुपर्नेछ।
दीपक सन् १९८० मा भारतको दार्जीलिङमा पक्राउ परेपछि उनको मानसिक स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसपछि मानसिक अवस्था ठीक नभएको भन्दै ट्रायल अघि बढाइएको थिएन। ट्रायल अघि नबढे पनि विभिन्न भारतीय जेलमा स्थानान्तरण हुँदै आएका दीपक पछिल्लो १५ वर्षयता कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’ मा थिए।