शनिबार बोलाइएको संसदीय दलको बैठकमा नेपाल-खनाल समूह सहभागी नहुने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबारका लागि बोलाएको संसदीय दलको बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष सहभागी नहुने भएको छ।
शुक्रबार (६ चैतमा) बानेश्वरमा बसेको नेपाल-खनाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले संसदीय दलको बैठक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको भन्दै बैठकमा सहभागी नहुने निर्णय गरेको हो। प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले शनिबार बिहान १० बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन्।
नेपाल-खनाल पक्षले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको र बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त अजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने बताएको छ।
यस्तै, नेपाल-खनाल पक्षले केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी २८ फागुनमा अवैध ढंगले भेला गरेर विधान उल्लंघन गरिएकोमा पनि आपत्ति प्रकट गरेको छ। २८ फागुनको बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले शनिबारको बैठकमा सहभागी नहुने स्थायी कमिटी बैठकको निष्कर्ष छ।