नेपाल-खनाल पक्षलाई कारबाही गर्ने विषयमा 'पर्ख र हेर' रणनीतिमा ओली
नेकपाको एकता बदर गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि नेकपा एमालेमा माधव नेपाल र झलनाथ खनाल पक्षले पार्टीमा समानान्तर सांगठनिक गतिविधि गर्दै आएका छन्। नेपाल-खनाल समूहको बिहीबार सकिएको दुईदिने राष्ट्रिय कार्यकर्ता भेलाले पनि स्थानीय कमिटीसम्म समानान्तर सांगठनिक गतिविधि सञ्चालन गर्ने निष्कर्ष निकालेको छ।
पार्टीमा समानान्तर ढंगले अगाडि बढ्न थालेपछि नेपाल-खनाल पक्षलाई कारबाही गर्ने बताएको एमाले संस्थापन पक्ष तत्काललाई पर्ख र हेरको रणनीतिमा छ।
अध्यक्ष केपी शर्मा ओली निकटका एक नेताले कारबाही गर्ने विषयमा आफूहरू हतार गरेर अगाडि नबढ्ने बताए। "अझै केही दिन हेर्छौं, सबैतिर कमिटी बनाउने लगायतका अराजक गतिविधि गर्दै गए सह्य हुँदैन,” उनले भने।
नेपाल-खनाल समूहले तत्काल असन्तुष्टि पोखे पनि विभाजन भएर नजाने ओली पक्षको निष्कर्ष छ। त्यसकारण उनीहरूलाई केही समय दिने र उक्त समयभित्र पनि समानान्तर गतिविधि जारी राखे कारबाहीको चरणमा प्रवेश गर्ने तयारी छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पनि बुधबार (४ चैतमा) नेपालप्रेस अनलाइन पोर्टललाई दिएको अन्तर्वार्तामा पार्टीमा समानान्तर र विधि-विधान विपरीतका गतिविधि गर्दै गए विधान अनुसार अगाडि बढ्ने बताएका थिए।
नेपाल-खनाल समूहले तत्काल असन्तुष्टि पोखे पनि विभाजन भएर नजाने ओली पक्षको निष्कर्ष छ। त्यसकारण उनीहरूलाई केही समय दिने र उक्त समयभित्र पनि समानान्तर गतिविधि जारी राखे कारबाहीको चरणमा प्रवेश गर्ने तयारी छ।
“तातेको फलाम सेलाउन त केही समय लाग्छ, त्यसैले अहिले हतार नगरौं, कुरा मिल्न पनि सक्छ,” ओली निकट ती नेता भन्छन्, “कुरा भइरहेको छ। जे कुरा भयो, त्यसबारे बाहिर होहल्ला गर्दा बिग्रिन्छ।"
ओली निकट एमाले पोलिटब्यूरो सदस्य शेरबहादुर तामाङ पनि अहिले कारबाहीको सम्भावना नरहेको र आफूहरू मिलाउने तयारीमै लागेको बताउँछन्। “पार्टीमा गुट वा समूह राखियो भने भोलि पनि समस्या आउँछ, त्यसैले पार्टीमा कुनै गुट नहुने गरी मिलाउन लागेका छौं,” तामाङ भन्छन्।
नेपाल-खनाल समूहमा पनि पार्टीमा मिलेर जाने र छुट्टै जान चाहने दुई समूह रहेको ओली पक्षको बुझाइ छ। त्यही कारण पनि सकेसम्म ओली पक्ष नेपाल समूहमा रहेका नेताहरूलाई व्यक्तिगत रूपमा संवाद गरेर आफूतिर तान्ने प्रयासमा छ। प्रधानमन्त्री ओलीले पनि समूहगत रूपमा कुरा गर्ने सार्वजनिक रूपमै बताइसकेका छन्।