ओलीले शनिबार बोलाए एमाले संसदीय दलको बैठक
नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले शनिबार एमाले संसदीय दलको बैठक बोलाएका छन्।
शनिबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको सांसद शेरबहादुर तामाङले बताए।
संसदीय दलको बैठकपछि केन्द्रीय कमिटी बैठक शुरू गर्ने ओलीको तयारी छ।
शनिबारको संसदीय दलको बैठकमा माधव नेपाल र झलनाथ खनाल समूह पनि सहभागी हुने तयारी छ। यसअघि ओलीले बिहीबार बोलाएको बैठकमा भने नेपाल-खनाल समूहका सांसदहरू अनुपस्थित थिए।
नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेले संसदीय दलको बैठकका बारेमा जानकारी प्राप्त भएको र छलफलपछि निर्णय हुने बताए।
माधव नेपाल पक्षका नेता योगेश भट्टराईले पनि बिहीबारको बैठकमा व्यस्तताका कारण उपस्थित हुन नसकेको र अब हुने संसदीय दलको बैठकमा उपस्थित हुने पत्रकार सम्मेलनमा बताएका थिए।