कोभिड-१९ विरुद्धको खोप किन्न विश्व ब्यांकको रू. ८ अर्ब ७० करोड सहयोग
विश्व ब्यांकले नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरिद गर्न तथा महामारीसँग जुध्न करीब रू. ८ अर्ब ७० करोड वित्तीय सहयोग गर्ने भएको छ।
ब्यांकको कार्यकारी बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै कोभिडविरूद्धको खोप वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग अनुमोदन गरेको हो। यो सहुलियत ऋणका रूपमा उपलब्ध हुनेछ। यो रकमले कम्तीमा एक तिहाइ जनसंख्यासम्म खोपको सुविधा विस्तार गर्न सकिने ब्यांकले जनाएको छ।
नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व ब्यांकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले नेपालका कम्तीमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्त्वाकांक्षी योजनालाई सघाउन ब्यांकले सहयोग गर्न लागेको बताएका छन्।
यो वित्त सहयोगको अधिकांश हिस्सा (९० प्रतिशत) कोभिड–१९ का खोपहरूको खरीद तथा खोप विस्तार गर्नमा परिचालित हुने ब्यांकले जनाएकाे छ। बाँकी रकमले परीक्षण, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत गरिनेछ।
नेपालका लागि यो अतिरिक्त वित्त सहयोग दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड–१९ खोप सहयोगका लागि पहिलो चरणमा स्वीकृत भएका तीन परियोजनामध्ये एक हो।