चितवन गैंडा चोरी शिकार : ‘शिकारी’ थुनामा, ‘मुख्य कारोबारी’ धरौटीमा रिहा
चितवन जिल्ला अदालतले चार वटा गैंडाको चोरी शिकारमा संलग्नताको अभियोग लागेकामध्ये शिकारीलाई थुनामा पठाउने आदेश गरेको छ भने मुख्य कारोबारी भनिएका व्यक्तिलाई धरौटीमा छाडेको छ।
करीब साढे तीन वर्ष चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको ‘शून्य चोरी शिकार वर्ष’ मनाइएकोमा चालू आर्थिक वर्षको शुरूआतमै चार वटा गैंडा मारिएका थिए। गैंडा मार्ने र त्यसको खाग तथा खुर कारोबार गरेको आरोपमा निकुञ्ज, जिल्ला प्रहरी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले माघ अन्तिम साता १४ जनालाई पक्राउ गरेको थियो।
उनीहरूविरुद्ध चितवन राष्ट्रिय निकुञ्जले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीले तीमध्ये शिकारी, शिकारका लागि व्यवस्थापकीय सहयोगी र खागको ओसारपोसार गरेको अभियोग लागेका व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाएका छन्। तर, मुख्य कारोबारीको अभियोग लागेका दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेका छन्।
जिल्ला अदालतको थुनछेक आदेशमा गैंडाको शिकार गरेको अभियोग लागेका तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा, हरिबहादुर मगर र रणबहादुर भन्ने जीतबहादुर कुमाललाई थुनामा राख्न आदेश दिएको हो।
त्यस्तै यी शिकारीबाट खाग किन्न र लुट्न सहभागी भएको अभियोग लागेका कैलाश आले मगर भन्ने कैलाशबाबु आले, सोमबहादुर गुरुङ, दुर्गा हरिजन भन्ने दुर्गाबहादुर सार्की, नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, राजेन्द्र क्षेत्री भन्ने पुरन रेउले र आशिष लामा भन्ने आइत तामाङलाई पनि अन्तिम फैसला होउन्जेल थुनामा राख्न आदेश भएको छ।
निकुञ्जले नांगे तामाङ र योन्देन ग्याम्जो तामाङलाई खाग किनेर तिब्बत पुर्याउन भूमिका खेलेको अभियोग लगाएको थियो। मुख्य कारोबारी ठानिएका कार्मा तामाङ योन्देन तामाङका बाबु हुन्, उनी भने फरार छन्।
मुगुका यी तीन जना र हुम्लाका अन्य दुई जना व्यापारीले खागको अन्तरदेशीय कारोबारमा मुख्य भूमिका खेलेको प्रहरीको अभियोग थियो। जिल्ला अदालतले भने नांगे तामाङ र योन्देन ग्याम्जो तामाङलाई पाँच लाख नगद धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको छ।
प्रहरीले ११ भदाै २०७६ मा काठमाडौं–६ रामहिटीस्थित योन्देनकाे डेराबाट ७३ किलोग्राम रक्तचन्दन बरामद गरेको थियो। यससम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। उनी यस मुद्दामा मुख्य अभियुक्त हुन्।