कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ।
१४ फागुनमा मस्तिष्कघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका उनको स्वास्थ्य थप जटिल बनेपछि फेरि भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। केही सञ्चारमाध्यमले जोशीका बारेमा भ्रामक समाचार सम्प्रेषण गरेपछि र सामाजिक सञ्जालमा पनि अफवाह फैलिएपछि अस्पतालले विज्ञप्ति निकालेर जोशीको अवस्थाबारे जानकारी गराएको हो।
अस्पतालका कर्पोरेट कम्युनिकेसन एन्ड पीआर डिपार्टमेन्टका प्रमुख सोमनाथ बाँस्तोलाले बुधबार विज्ञप्ति जारी गरी जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको जनाएका छन्।
विज्ञप्तिका अनुसार केही दिनको उपचारपछि जोशीको अवस्थामा सुधार आएकोमा स्वास्थ्यमा फेरि जटिलता आएको हो।
“आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टविना नै राखिएको थियो, तर अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो,” विज्ञप्तिमा भनिएको छ, “हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं। उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ।”