यी हुन् नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु
चालू आर्थिक वर्षको माघसम्ममा नेपालले रू.६९ अर्ब ९२ करोडको वस्तु निर्यात गर्यो। यसमध्ये रू.१९ अर्ब ५९ करोड बराबरको निर्यात त भटमासको तेल मात्रै भएको छ। यो कुल निर्यातको सबैभन्दा धेरै अर्थात् २८ प्रतिशत हो।
नेपालमा पर्याप्त भटमास उत्पादन भएर तेल निकाली विदेशी निर्यात भएको भने होइन। विदेशबाटै तेल आयात गरेर त्यसलाई फेरि भारततर्फ निर्यात गरिएको हो। नेपाल हुँदै भारततर्फ भटमासको तेल निर्यात गर्दा फाइदा हुने देखेर व्यापारीहरूले नेपाललाई अन्तर्राष्ट्रिय कारोबारको ट्रान्जिट मात्रै बनाएका हुन्।
अघिल्लो वर्ष यसैगरी पाम आयलको निर्यात हुने गरेको थियो। गत वर्षको माघसम्ममा देशले करीब रू.१४ अर्बको पाम आयल निर्यात गरेको थियो। तर, भारतले पाम आयलको आयातमा कडाइ गरेसँगै यसको धन्दा रोकिएको छ।
आर्थिक वर्ष २०७६/७७ को माघसम्ममा रू.५ अर्ब ९४ करोडको भटमासको तेल निर्यात भएकोमा यो वर्षको माघसम्ममा यस्तो निर्यात २२९.५ प्रतिशतले बढेको छ। यस्तो अस्वाभाविक निर्यात दिगो होइन। भारतले नीतिगत परिवर्तन गर्नेबित्तिकै यस्तो निर्यातमा संकट आउँछ।
नेपालले गर्ने निर्यातको दोस्रो नम्बरमा अलैंची छ। अलैंची निर्यातबाट आम्दानी गरेको रकम कुल निर्यातको ६.१ प्रतिशत हुन आउँछ। माघसम्ममा अलैंचीको निर्यात पनि ४८ प्रतिशतले बढेको तथ्यांक छ। यो अवधिमा रू.४ अर्ब २५ करोडको अलैंची निर्यात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको माघसम्ममा रू.२ अर्ब ८७ करोडको मात्रै निर्यात भएको थियो।
आर्थिक वर्ष २०७६/७७ को माघसम्ममा रू. ५ अर्ब ९४ करोडको भटमासको तेल निर्यात भएकोमा यो वर्षको माघसम्ममा यस्तो निर्यात २२९.५ प्रतिशतले बढेको छ। यस्तो अस्वाभाविक निर्यात दिगो होइन। भारतले नीतिगत परिवर्तन गर्नेबित्तिकै यस्तो निर्यातमा संकट आउँछ।
नेपालको निर्यातको तेस्रो र चौथो नम्बरमा पोलिस्टर धागो र ऊनी गलैंचा छन्। यी दुवैले कुल निर्यातको ६/६ प्रतिशत हिस्सा ओगट्छन्। माघसम्ममा नेपालले रू.४ अर्ब १७ करोडको पोलिस्टर धागो र उति नै रकम बराबरको ऊनी गलैंचा निर्यात गरेको छ।
नेपालले निर्यात गर्ने वस्तुको पाँचौं नम्बरमा जुटका सामान छन्, जसले कुल निर्यातको ५.४ प्रतिशत हिस्सा ओगट्छ। माघसम्ममा नेपालले रू.३ अर्ब ७५ करोड मूल्यका जुटका सामग्री निर्यात गरेको छ, यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४.६ प्रतिशत धेरै हो।
कुल निर्यातको ३ प्रतिशत हिस्सा ओगट्ने तयारी पोशाकको निर्यात माघसम्ममा रू.२ अर्ब १० करोड बराबरको भएको छ। करीब दुई दशकअघि नेपालले तयारी पोशाकको निर्यातमा निकै राम्रो सफलता पाएको थियो। मूल्यका आधारमा अहिले तयारी पोशाकको निर्यात कुल निर्यातको छैटौं स्थानमा छ।
रू.१ अर्ब ९७ करोड आम्दानीसँगै निर्यातको सातौं स्थानमा कपडा छ। कपडाको निर्यात देशको कुल निर्यातको २.८ प्रतिशत हो।
निर्यातको आठौं स्थानमा जुस छ। माघसम्ममा नेपालले रू.१ अर्ब ९५ करोड मूल्य बराबरको जुस निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करीब ६ प्रतिशत थोरै हो। जुस निर्यातबाट हुने आम्दानी निर्यातबाट हुने कुल आम्दानीको २.८ प्रतिशत मात्रै हो।
कुनै वेला कुल निर्यातमा ठूलो हिस्सा ओगट्ने पस्मिनाको निर्यात माघसम्ममा रू.१ अर्ब ७१ करोड छ। यो कुल निर्यातको २.४ प्रतिशत हो। पस्मिना कुल निर्यातको नवौं स्थानमा छ।
नेपालले गर्ने निर्यातको दशौं स्थानमा पिना (आयल केक) छ। माघसम्ममा देशले रू.१ अर्ब १२ करोडको पिना निर्यात गरेको छ।
यी दश प्रमुख वस्तुबाहेक देशले माघसम्ममा रू.१ अर्ब ६ करोडको जडीबुटी, रू.८८ करोड ६२ लाखको आयुर्वेदिक औषधि, रू.७९ करोडको चाउचाउ, रू.६० करोडको मन्जन, रू.५६ करोडको जस्तापाता, रू.६० करोडको जुत्ताचप्पल, रू.२९ करोडको अदुवा निर्यात गरेको छ।
चालू आर्थिक वर्ष २०७७/७८ को माघसम्ममा निर्यातको अवस्था: