वैदेशिक रोजगारीमा जाने तीन चौथाइले घटे, रेमिटेन्स ११ प्रतिशतले बढ्यो
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन चौथाइले घटे पनि रेमिटेन्स करीब ११ प्रतिशतले बढेको तथ्यांक नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ।
राष्ट्र ब्यांकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार, चालू आर्थिक वर्षको सात महीना अर्थात् माघ मसान्तसम्ममा देशमा रू.५ खर्ब ६७ अर्ब ७० करोड रेमिटेन्स भित्रिएको छ, यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १०.९ प्रतिशतले धेरै हो।
अमेरिकी डलरमा पनि रेमिटेन्स ६.७ प्रतिशतले बढेको छ। कोभिड–१९ को संक्रमण महामारी शुरू भएसँगै रेमिटेन्स घट्ने चिन्ताका बावजूद यो निरन्तर बढेको छ। वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ह्वात्तै घटे पनि रेमिटेन्सको वृद्धि नघट्दा अर्थतन्त्रलाई ठूलो भरथेग मिल्दै आएको छ।
रेमिटेन्स बढेका कारण देशको वैदेशिक मुद्राको सञ्चिति सहज अवस्थामा छ। माघसम्ममा १२ अर्ब ५७ करोड डलर बराबरको वैदेशिक मुद्राको सञ्चिति रहेको राष्ट्र ब्यांकले जनाएको छ।
राष्ट्र ब्यांकका अनुसार, माघसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो। कोभिड–१९ का कारण रोजगारीका गन्तव्य मुलुकहरूबाट कामदारको माग घटेकाले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको हो।
रेमिटेन्स बढेका कारण देशको वैदेशिक मुद्राको सञ्चिति सहज अवस्थामा छ। माघसम्ममा १२ अर्ब ५७ करोड डलर बराबरको वैदेशिक मुद्राको सञ्चिति रहेको राष्ट्र ब्यांकले जनाएको छ। विदेशबाट सामान आयात गर्न, नेपालीलाई वैदेशिक भ्रमणमा जान तथा विदेशको ऋणको साँवाब्याज भुक्तानी आदिमा वैदेशिक मुद्राको आवश्यकता पर्छ। यो सञ्चिति रकमले ११.९ महीनाको वस्तु र सेवाको आयात थेग्छ।
माघसम्ममा शोधनान्तर स्थिति (देशको भित्रिने र बाहिरिने रकमबीचको अन्तर) रू. ९७ अर्ब ३६ करोडले बचतमा छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति रू. २१ अर्ब ६१ करोडले बचतमा थियो। शोधनान्तर स्थिति सकारात्मक भए पनि देशको चालू खाता भने माघमा करीब रू. १ खर्ब २ अर्ब घाटामा छ।
राष्ट्र ब्यांकका अनुसार, माघसम्ममा देशमा रू. ९ अर्ब २ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको यही अवधिकाे तुलनामा ३७.३ प्रतिशत थोरै हो।
अघिल्लो वर्षबाटै घटिरहेको आयात बिस्तारै बढ्न थालेको देखिएको छ। माघसम्ममा विदेशबाट वस्तु आयात ०.०१ प्रतिशतले बढेर रू. ८ खर्ब ३ अर्ब ६४ करोड कायम भएको छ। त्यस्तै, निर्यात ७.६ प्रतिशतले बढेर रू. ६९ अर्ब ९२ करोड कायम भएको छ।
माघमा मूल्यवृद्धि दर सुस्त रहेको देखिएको छ। राष्ट्र ब्यांकका अनुसार, वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७० प्रतिशत छ, जुन अघिल्लो वर्षको यही अवधिमा ६.८७ प्रतिशत थियो। माघमा सबैभन्दा धेरै फलफूल र घ्यू तथा तेलको मूल्यवृद्धि क्रमशः १८.८४ प्रतिशत र १८.१४ प्रतिशत भएको छ। तर, तरकारीको मूल्य अघिल्लो वर्षकाे तुलनामा १४.७१ प्रतिशतले घटेको छ।