एमाले अध्यक्ष ओली र नेपालबीच धुम्बाराहीमा वार्ता हुँदै
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता हुने भएको छ। एमाले मुख्यालय धुम्बाराहीमा ओली र नेपालबीच आज बिहान ११ बजे भेट हुन लागेको हो।
ओली निकट स्रोतका अनुसार अध्यक्ष ओलीले नेपाल पक्षलाई वार्ताका लागि बोलाएको हो। वार्तामा ओली पक्षबाट ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट नेपालसहित झलनाथ खनाललगायतका नेताहरू बस्न लागेका हुन्।
प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेसँगै एमाले नेताहरूबीच विवाद बढेको थियो। २३ फागुनमा सर्वोच्च अदालतले नेकपा एकीकरण गर्ने निर्णय बदर गरेपछि एमाले र माओवादी केन्द्र अलग भएका थिए। त्यसपछि एमालेमा झन् विवाद चर्किएको छ। एमाले ब्युँतिएपछि पहिलो पटक ओली र नेपाल वार्तामा बस्न लागेका हुन्।
अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो पक्षका केन्द्रीय सदस्यको बैठक राखेर नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेका थिए। त्यस्तै, माओवादी केन्द्रबाट आएका गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।
ओलीको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल पक्षले विरोध गर्दै आएको छ। नेपाल पक्षले १ चैतमा संयुक्त वक्तव्य जारी गर्दै ओलीले कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्न लागेको आरोप लगाएको थियो।