अक्सफाम नेपालकी देशीय निर्देशकलाई पदमुक्त गर्न सिफारिश
मानवीय सहायता र गरीबी निवारणमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था अक्सफामको नेपालस्थित देशीय निर्देशकलाई पदमुक्त गर्नुपर्ने सुझाव एउटा सरकारी अध्ययन समितिले दिएको छ। गैरसरकारी संस्थाहरूको अनुगमनको जिम्मेवारी पाएको समाज कल्याण परिषद्ले गठन गरेको छानबिन समितिले अक्सफामकी देशीय निर्देशक सराह ब्लिन पदमा रहन योग्य नभएकाले उनको सेवा अनुमति खारेज गर्नुपर्ने सुझाव दिएको हो।
ब्लिनविरुद्ध परेको उजुरीबारे छानबिन गर्न परिषद्ले सञ्चालक समिति सदस्य डा. मणिराम बञ्जाडेको संयोजकत्वमा परिषद्का कानूनी सल्लाहकार प्रविनकुमार प्रधान, परिषद्को योजना तथा कार्यक्रम शाखाका सहायक निर्देशक खगनाथ रेग्मीसहित पाँच जना सदस्य रहेको समिति गठन गरेको थियो। समितिले एक साताअघि बुझाएको प्रतिवेदनमा ब्लिनलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको देशीय निर्देशकका रूपमा काम गर्न अयोग्य ठहर गरेको छानबिन समितिका एक सदस्यले बताए।
नाम उल्लेख नगर्ने शर्तमा ती सदस्यले भने, “अक्सफामको नेपालस्थित कर्मचारीहरूले देशीय निर्देशक ब्लिनविरुद्ध गरेको उजुरीमाथि छानबिन गर्दा ब्लिनको धेरै कमजोरी भेटिएकाले उनलाई पदमुक्त गर्न सिफारिश गरिएको हो।”
अक्सफाम नेपालका कर्मचारीहरूले ब्लिनले नियम मिचेर कार्यालय चलाएको, कर्मचारीलाई भेदभाव र शोषण गरेको, नेपालको कानून मान्न अस्वीकार गरेको, कैयौं कर्मचारीलाई बर्खास्त गरेको लगायत आरोप लगाउँदै छानबिनका लागि परिषद्मा उजुरी गरेका थिए। उनीहरूले अक्सफामकी देशीय निर्देशक ब्लिनले अपारदर्शी ढंगबाट निर्णयहरू गर्ने गरेको तथा गुनासोको सुनुवाइ नगरेको उजुरीमा उल्लेख गरेका थिए । परिषद्को छानबिनले ४० प्रतिशतभन्दा धेरै कर्मचारीले ब्लिनको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनी पदमा रहन योग्य नभएको बताएको छानबिन समितिमा रहेका एक अधिकारीले बताए। समितिको प्रतिवेदनले ब्लिनमाथि लगाइएका आरोपहरूका विषयमा थप अनुसन्धान गर्नुपर्ने पनि उल्लेख गरेको छ।
ब्लिन भने हाल फ्रान्समै रहेको बताइएको छ । हिमालखबरले परिषद्को प्रतिवेदन बारे प्रतिक्रिया दिन इमेलमार्फत उनलाई इमेलमार्फत आग्रह गरेको थियो । तर, हालसम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।
अक्सफाम नेपालका मिडिया तथा सञ्चार अधिकृत ग्रीष्मराज अर्यालले परिषद्को छानबिनका विषयमा आफूलाई जानकारी नरहेको बताए ।
अक्सफाम नेपालका कर्मचारीहरूले ब्लिनले नियम मिचेर कार्यालय चलाएको, कर्मचारीलाई भेदभाव र शोषण गरेको, नेपालको कानून मान्न अस्वीकार गरेको, कैयौं कर्मचारीलाई बर्खास्त गरेको लगायत आरोप लगाउँदै छानबिनका लागि परिषद्मा उजुरी गरेका थिए।
अन्तर्राष्ट्रिय संस्थालाई अनुमति दिनेसहित तिनका कामको अनुगमन र सुपरिवेक्षण गर्ने नियामकीय जिम्मेवारी पाएको परिषद्ले सोझै कुनै गैरसरकारी संस्थाको प्रमुखलाई हटाउन सक्दैन। तर, ‘साधारण सम्झौता तथा सेवा सुविधा सम्बन्धी निर्देशिका २०७१’ बमोजिम अयोग्य देखिएका देशीय निर्देशकको सेवा सहमति खारेज गर्न तथा गैरपर्यटकीय प्रवेशाज्ञा (भिसा) नदिन नेपाल सरकारलाई सिफारिश गर्नसक्छ। छानबिन समितिले पनि ब्लिनलाई सेवा सहमति र त्यस्तो प्रवेशाज्ञा नदिन उल्लेख गरेको छ।
डेढ वर्षअघि फ्रान्सकी नागरिक ब्लिन अक्सफामको नेपालस्थित निर्देशक नियुक्त भएकी थिइन्। कोभिड–१९ को संक्रमण शुरू भएपछि नेपालबाहिरै रहेकी ब्लिनको भिसा अवधि गत २२ जुलाईदेखि सकिएको थियो। उनले परिषद्बाट सेवा सहमति र नेपाल प्रवेश गर्न गैरपर्यटकीय प्रवेशाज्ञा नपाए नेपालमा देशीय निर्देशकका रूपमा काम गर्ने हैसियत गुमाउनेछिन्।
परिषद्ले छानबिन प्रतिवेदन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाइएको र मन्त्रालयको निर्देशनबमोजिम यसलाई कार्यान्वयन गरिने परिषद्का सदस्य–सचिव पुष्कर खातीले बताए। “मुख्य रूपमा अक्सफाम नेपालमा मानव संसाधनका विषयमा समस्या देखिएको छ, परिषद्ले पहल लिएर यसलाई सम्बोधन गर्छ,” खातीले भने। ब्लिनविरुद्ध अक्सफामका कर्मचारीले राष्ट्रिय सतर्कता केन्द्रमा पनि उजुरी हालेका थिए।
ब्लिनविरुद्ध उजुरी परेपछि समाज कल्याण परिषद्ले अक्सफामसँगको साधारण सम्झौता पनि नवीकरण गरेको छैन। पुरानो सम्झौताको अवधि गत २२ जनवरीपछि समाप्त भइसके पनि नयाँ सम्झौता नभएकाले अक्सफाम नेपालको कानूनी हैसियत अहिले छैन। सम्झौता नवीकरण नहुँदा अन्य परियोजना सम्झौताहरू पनि अड्किएका छन्।
समाज कल्याण परिषद्सँग साधारण कार्यक्रम सम्झौता गरी काम गर्दै आएका अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले एक कार्यकाल (३ वा ५ वर्षको) पूरा गरी अर्को कार्यकालका लागि साधारण सम्झौता नवीकरण गर्न सक्छन्। तर, अक्सफाम नेपालले सम्झौता नवीकरणका लागि पर्याप्त कागजात नै बुझाउन सकेको छैन। परिषद्का सदस्य–सचिव खातीका अनुसार, छानबिन समितिले अक्सफामसँगको साधारण सम्झौता नवीकरण गर्नुपर्ने सुझाव दिएको बताए। “अरू समस्या समाधान गरेर सम्झौता नवीकरण गर्नुपर्ने सुझाव छानबिन समितिले दिएको छ,” खातीले भने।