नेपाल पक्षले बोलायो राष्ट्रिय कार्यकर्ता भेला, प्रदेश इन्चार्ज पनि तोक्यो
नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। त्यसकाे समन्वय गर्न प्रदेश इन्चार्ज पनि तोकेको छ।
शनिबार काठमाडौंमा बसेको केन्द्रीय सदस्य र सांसदहरूको भेलाले ४ र ५ चैतमा काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो। त्यसका लागि देशभर कार्यकर्तालाई काठमाडौं बोलाएको छ।
राष्ट्रिय कार्यकर्ता भेलाको समन्वय गर्न नेपाल पक्षले प्रदेश इन्चार्ज पनि तोकेको छ। प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली तथा सुदूरपश्चिम प्रदेशमा भीम रावललाई इन्चार्ज तोकेको छ।
यसैगरी नेपाल पक्षले संगठनको केही जिम्मेवारी पनि नेताहरूलाई दिएको छ। रघुजी पन्तलाई युवा संगठन, गोकर्ण विष्टलाई विद्यार्थी, योगेश भट्टराईलाई प्रचार विभाग, अष्टलष्मी शाक्यलाई महिला संगठन र प्रवेश हमाललाई बुद्धिजीवि संगठनको जिम्मेवारी दिएको छ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफ्नो पक्षका केन्द्रीय सदस्यको बैठक गरी नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेका थिए। त्यस्तै, माओवादी केन्द्रबाट आएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। बैठकले आगामी २ देखि ६ मंसीरमा एमाले महाधिवेशन गर्ने निर्णय गरेको थियो।
यसको नेपाल पक्षले विरोध गरेकाे छ। २८ फागुन साँझ नै बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठकले अध्यक्ष ओलीले एकलौटी निर्णय गरेको जनाउँदै त्यसलाई मान्न नसकिने निष्कर्ष निकालेको थियो।
त्यसबारे थप निर्णय गर्न शनिबार संघीय सांसद र केन्द्रीय सदस्यको भेला गरेको हो। भेलामा काठमाडौंमा उपलब्ध सांसद र केन्द्रीय सदस्य सहभागी थिए।
सर्वोच्च अदालतले २३ फागुनमा नेकपा एकीकरण सम्बन्धी निर्वाचन आयोगको निर्णय बदर गरेसँगै एमाले र माओवादी केन्द्र अलग भएका थिए। योसँगै एमालेमा पनि विवाद चर्किएको हो।