पुलिस क्लबले जित्यो काठमाडौं मेयर कपको उपाधि
काठमाडाैं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ८ विकेटले पराजित गरेको हो। उपाधिसँगै पुलिस क्लबले रु.५ लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता एपीएफ क्लबले रु. ३ लाख पुरस्कार प्राप्त गरेको छ।
टस जितेर ब्याटिङ गरेको एपीएफ क्लबले नेपाल पुलिस क्लबसामु जितका लागि १०६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो। पुलिस क्लबले २४.१ ओभरमा दुई विकेट गुमाएर जित हासिल गरेको हो।
पुलिस क्लबका लागि सुनिल धमलाले अविजित ५९ रनको योगदान दिए। उनले ८२ बल खेल्दै २ छक्का र ७ चौका प्रहार गरे।
यस्तै दीपेन्द्रसिंह ऐरीले ११, कुशल भुर्तेल र अनिल साहले १५/१५ रन बनाए। बलिङतर्फ एपीएफका अभिनाश बोहरा र भुवन कार्कीले १/१ विकेट लिए।
यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले २९.४ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनायो। एपीएफले ५ रनमा पहिलो विकेट गुमाएको थियो। टोलीको स्कोर १० रन छँदा महत्त्वपूर्ण ३ विकेट गुमाएको थियो। शंकर राना ४ रनमा तथा आसिफ शेख र शरद भेषवाकर शून्यमा आउट भएका थिए।
यस्तै भुवन कार्कीले १४, सन्दीप जोराले १८, वसन्त रेग्मीले २२, अभिनाश बोहराले १२ तथा अमर रौटेलाले १८ रन बनाए। बलिङतर्फ गुल्सन झा र सागर ढकालले ४/४ विकेट लिए। यस्तै पवन शर्राफ र ललित राजवंशीले १/१ विकेट लिए।
प्रतियोगितामा पुलिस र एपीएफसँगै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र काठमाडौं मेयर ११ सहभागी थिए।