एमालेमा ओलीले गरे एकल निर्णय, माधव नेपाल समूहका नेताको जिम्मेवारी खोसियो
सर्वोच्च अदालतको आदेशपछि ब्युँतिएको नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यको बैठक बोलाएर एकपक्षीय निर्णय गरेका छन्।
शुक्रबार बालुवाटारमा बसेको बैठकमा ओलीले विधान संशोधन, प्रदेश इन्चार्ज परिवर्तन, प्रदेश कमिटीको गठन र विभिन्न विभागको हेरफेर गरेका छन्। बैठकमा सहभागी केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार, बैठकले एमालेको विधान संशोधन गर्ने निर्णय गरेको छ। “अदालतको आदेशपछि उत्पन्न संक्रमणकालीन अवस्थामा संगठनलाई व्यवस्थित गर्न विधान संशोधन गर्ने निर्णय भएको छ,” भट्टराईले भने।
त्यसैगरी, बैठकले माओवादी केन्द्रबाट एमालेमा आएका सात जना मन्त्रीसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ। ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिशपछि तत्कालीन नेकपा दुई खेमामा बाँडिंदा रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायत २३ जना पुष्पकमल दाहाल–माधव नेपाल समूहमा नगई ओली पक्षमा बसेका थिए।
पार्टी एकीकरण हुनुअघि प्रदेश १ मा भीम आचार्य, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, कर्णाली प्रदेशमा युवराज ज्ञवाली, सुदूरपश्चिममा भीम रावल प्रदेश इन्चार्ज थिए। यी सबै एमालेमा माधवकुमार नेपाल समूहका नेता हुन्। उनीहरू सबैको जिम्मेवारी खोसिएको छ।
ओली निकट केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जको हेरफेर समेत गरेको छ। जस अनुसार प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा रामबहादुर थापा, गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ।
पार्टी एकीकरण हुनुअघि प्रदेश १ मा भीम आचार्य, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, कर्णाली प्रदेशमा युवराज ज्ञवाली, सुदूरपश्चिममा भीम रावल प्रदेश इन्चार्ज थिए। यी सबै एमालेमा माधवकुमार नेपाल समूहका नेता हुन्। उनीहरू सबैको जिम्मेवारी खोसिएको छ।
जिम्मेवारी खोसिनेमा योगेश भट्टराई पनि छन्। पार्टी एकीकरण हुनुअघि उनी प्रचार–प्रसार विभाग प्रमुख थिए। उनको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ। त्यसैगरी, पार्टी एकताअघि विदेश विभाग प्रमुख रहेका माधव नेपालको जिम्मेवारी पनि खोसिएको छ। उनको जिम्मेवारी राजन भट्टराईलाई दिइएको छ।
शुक्रबारको बैठकले ५ पुसपछि गठित प्रदेश अध्यक्ष र सचिवलाई कायम राख्ने निर्णय गरेको छ। जस अनुसार प्रदेश १ का अध्यक्षमा देवराज घिमिरे, सचिवमा विनोद ढकाल, प्रदेश २ को अध्यक्षमा प्रभु साह, सचिव सुमन प्याकुरेल, वाग्मती प्रदेशको अध्यक्षमा आनन्द पोखरेल, सचिव खेम लोहनी, गण्डकी प्रदेशको अध्यक्षमा जगत विश्वकर्मा, सचिव गोविन्द न्यौपाने, लुम्बिनी प्रदेशको अध्यक्षमा लिला गिरी, सचिव खेममान खड्का, कर्णाली प्रदेशको अध्यक्षमा गुलाफजंग शाह, सचिव धर्मराज रेग्मी, कर्णाली प्रदेशमा अध्यक्ष कर्णबहादुर थापा, सचिव राजेन्द्रसिंह रावल तोकिएका छन्।
अध्यक्ष ओलीले स्कूल विभाग आफैंसँग राखेका छन्। २०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष ओलीले स्कूल विभाग प्रमुख आफैंसँग राखेका थिए। त्यसैगरी संगठन विभाग प्रमुखको जिम्मेवारी उप–महासचिव विष्णु पौडेललाई दिइएको छ। पार्टी एकताअघि संगठन विभागको प्रमुख पृथ्वी सुब्बा गुरुङ थिए।
महाधिवेशन २ मंसीरमा
शुक्रबारको बैठकले एमालेको १०औं महाधिवेशन २०७८ सालको २–६ मंसीरमा गर्ने निर्णय पनि गरेको छ।
यस्तै, यसअघि १ चैतमा गर्ने भनिएको केन्द्रीय कमिटी बैठक ७ चैतका लागि सारिएको छ। उक्त बैठकबारे माधव नेपाल समूहका केन्द्रीय सदस्यलाई खबर गर्न महासचिव ईश्वर पोखरेललाई अध्यक्ष ओलीले निर्देशन दिएका छन्।
ओलीले गरेको एकल निर्णयप्रति नेपाल समूहले आश्चर्य व्यक्त गरेको छ। नेपाल समूहका पोलिटब्यूरो सदस्य वेदुराम भुसालले ओलीले एमालेको नवौं महाधिवेशनबाट पारित विधान र नीति विपरीत काम गरेको बताए। विधि र विधान विपरीत गरिने क्रियाकलापबाट एमाले कमजोर हुने उनले टिप्पणी गरे।