राष्ट्र ब्यांकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त
नेपाल राष्ट्र ब्यांकको रिक्त डेपुटी गभर्नर पदमा बमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त भएका छन्। मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले मिश्र र ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो।
डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल १९ फागुनमा सकिएपछि उक्त पद रिक्त थियो।राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा मन्त्रिपरिषद् बैठ्कले उनीहरूलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो।
गभर्नर अधिकारीले डेपुटी गभर्नर पदका लागि चार सम्भावित उम्मेदवारको नाम अर्थमन्त्री विष्णु पौडेलमार्फत सिफारिश गरेका थिए। राष्ट्र ब्यांकका कार्यकारी निर्देशकहरू डेपुटी गभर्नर पदका प्रतिस्पर्धी हुन्छन्।
ढुंगाना राष्ट्र ब्यांकको इतिहासमा डेपुटी गभर्नर पदमा नियुक्त हुने पहिलो महिला हुन्। यसअघि, डेपुटी गभर्नर पदमा अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार समेत रहेका राष्ट्र ब्यांकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त हुने आकलन गरिएको थियो।