शान्तिपूर्ण गतिविधि गर्ने चन्दको प्रतिबद्धता
सरकारले शुक्रबार मात्र प्रतिबन्ध फुकुवा गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले अब शान्तिपूर्ण गतिविधि गर्ने प्रतिबद्धता जनाएका छन्।
सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर कार्यक्रम बोल्दै महासचिव चन्दले सहमति पालना गर्न प्रतिबद्ध रहेको जनाए। उनले भने, “कम्युनिष्ट विद्रोहका मात्रै योद्धा होइनन् शान्तिका दूत पनि हुन्,” उनले भने, “सहमति पालना गर्छौं। आशंका र उत्तेजनामूलक कुतर्क गर्न जरूरी छैन।”
करीब २० मिनेट लामो भाषणका क्रममा चन्दले मजदुर, किसान लगायत तल्लो वर्गका जनताको समस्या जस्ताको तस्तै रहेको बताए। विगतमा खण्डखण्डमा भएको परिवर्तनले अझै पूर्णता नपाएको उनको भनाइ थियो।
उनी पछि बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुरूमै चन्दलाई सम्बोधन गरेका थिए। उनले ‘नेकपाको महासचिव विप्लव’ भनेर सम्बोधन गर्दै आफ्नो भाषण शुरू गरेका थिए।
सरकार र नेकपाबीचको सहमतिपछि शान्तिको प्यारामिटर उचाइमा पुगेको भन्दै प्रधानमन्त्री ओलीले चन्दलाई धन्यवाद दिए। सहमतिमा आएर चन्दले जनताको मन जितेको पनि बताए।
कार्यक्रममा ओलीले चन्दको प्रशंसा गर्दै उनले साहसिक कदम चालेको बताए। "म विप्लवजीलाई बधाई दिन चाहन्छु, उहाँले साहसिक कदम चाल्नुभएको छ। एउटा बाटोमा हिँडिरहँदा कार्यकर्तालाई मोड्न गाह्रै हुन्छ। उहाँले सफलतापूर्वक गर्नुभयो। यो फोर्स ल्यान्डिङ होइन, क्र्यास ल्यान्डिङ होइन, सेफ ल्यान्डिङ हो।"