बर्मामा एकै दिन दुई बालकसहित ३८ प्रदर्शनकारीको मृत्यु
सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि बर्मामा गोली प्रहार गरिएको छ। सुरक्षाकर्मीकाे गोली लागेर एकै दिन ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ।
बर्मास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकारको कार्यालयले १९ फागुनमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ। जसमा तीन जना बालबालिका पनि छन्। उनीहरु १४, १७ र १९ वर्षका रहेको मानवअधिकार कार्यालयले जनाएको छ।
गत १९ माघमा सेनाले सत्ता हातमा लिएपछि बर्मामा दैनिक प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले प्रजातन्त्र पुनर्बहालीको माग गरेका छन्।
उनीहरूले नेत्री आङ सान सु चीलाई मुक्त गर्न माग गर्दै आएका छन्। सेनाले सु चीलाई नियन्त्रणमा राखेको छ।
१९ फागुनमा देशको ठूलो शहर योङगुनसहित विभिन्न स्थानमा प्रदर्शन भएको छ। योङगुनमा सेनाले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको हो। शुरूआतमा रबरको गोली र त्यसपछि सीधै गोली प्रहार भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि पनि प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाएका थिए। १६ फागुनमा प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर १८ जनाको मृत्यु भएको थियो भने ३० जनाभन्दा बढी घाइते भएका थिए।
त्यसअघि ८ फागुनमा भएको प्रदर्शनमा पनि सुरक्षाकर्मीले गोली चलाएका थिए। सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो।
सेनाले सत्ता हातमा लिएयता बर्मामा भएको प्रदर्शनमा ५९ जनाको मृत्यु भइसकेको छ। सयौं प्रदर्शनकारी घाइते भएका छन्।
गत १९ माघमा बर्माको सेनाले सत्ता कब्जा गरेर एक वर्षका लागि संकटकाल घोषणा गरेको थियो। सेनाले नेसनल लिग फर डेमोक्रेसीकी नेत्री सु ची, राष्ट्रपति विन मिन्टसहित मन्त्री र सांसदहरूलाई गिरफ्तार गरेको थियो। सांसदहरूलाई रिहा गरेको भए पनि सु ची र राष्ट्रपति मिन्टलाई छोडेको छैन। नेत्री सु चीलाई नजरबन्दमा राखेको छ।
प्रदर्शनकारीले नेत्री सु चीलाई नजरबन्दमुक्त गर्न माग गरिरहेका छन्।
सन् २०११ देखि प्रजातान्त्रिक अभ्यास गर्न थालेको बर्मामा फेरि सेनाले सत्ता हातमा लिएको हो। सेनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गरी सन् १९६२ देखि २०११ सम्म शासन चलाएको थियो।