ताप्लेजुङको दोभानमा आगलागी, ३५ घर जलेर नष्ट
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ स्थित दोभान बजारमा आगलागी भएको छ। आगलागीमा ३५ घर जलेका छन् भने अझै आगाे नियन्त्रणमा आएकाे छैन।
मंगलबार बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् सर्ट भएर आगलागी भएको स्थानीय गणेश कार्कीले बताए। आगलागीबाट ३५ घर जलेर नष्ट भएको उनले बताए। “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दैछौंँ,” उनले भने।
ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणाले बताए। भीषण आगलागी भएको उनले बताए।
सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणको पहल गरिरहेका छन्। तर, आगो नियन्त्रणमा नआएको राणाले बताए।
आगोले घरहरू जले पनि मानवीय क्षति भने नभएकाे जनाइएकाे छ। एउटा घरमा आगो लाग्नेबित्तिकै सबै जना सतर्क भएकाले मानवीय क्षति हुनबाट जोगिएको उनको भनाइ छ।