सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। सोमबार मध्यरातिबाट लागू हुने गरी मूल्य बढाएको हो।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु.२ का दरले मूल्यवृद्धि गरिएको छ। नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु. ११६ कायम भएको छ।
यस्तै, डिजल र मट्टीतेल प्रतिलिटर रु. ९९ कायम भएको छ। यस्तै, हवाई इन्धन आन्तरिक उडानतर्फ साबिकको प्रतिलिटर बिक्री मूल्यमा रु.५ ले वृद्धि गरी रु. ७२ कायम गरिएको निगमले जनाएको छ।
हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ। खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् नै कायम राखिएको निगमले जनाएको छ।
मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर रु. ८.४२, डिजलमा प्रतिलिटर रु. ६.५६ र एलपी ग्यासमा प्रतिसिलिन्डर रु. ३९२.८२ घाटा रहेको निगमका प्रवक्ता उपाध्यायले बताए। अर्धमासिक रूपमा रु. १ अर्ब ३२ करोड जति घाटा नै रहने र घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ।
निगमले यसअघि यही ४ फागुनमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो।
इन्डियन आयल कर्पोरेसनले सोमबार पठाएको मूल्यसूचीअनुसार नै मूल्य समायोजन गरिएको निगमका प्रवक्ता उपाध्यायले बताए। मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा रु.१ अर्ब ५४ करोड ६ लाख घाटा हुने अवस्था रहेको उनको भनाइ छ।