यस वर्षको प्रि-मनसुनमा नेपालको तापक्रम औसतभन्दा बढ्ने
यस वर्षको प्रि-मनसुन सोमबार (१७ फागुन) बाट शुरू भएको छ। १७ फागुनदेखि १७ जेठसम्मको अवधिलाई प्रि-मनसुन भनिन्छ। यो अवधिमा सरदरभन्दा तापक्रम बढ्ने तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरिएको छ।
विश्व मौसम संगठनले १७ फागुनदेखि १७ जेठ २०७८ सम्मको अवधिलाई आधार मानेर गरेको पूर्वानुमान अनुसार, तापक्रम सरदरभन्दा बढी हुने ५० देखि ८० प्रतिशतसम्म सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको हावापानी विश्लेषण शाखाको पूर्वानुमानमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने ७० देखि ८० सम्म र प्रदेश १ तापक्रम वृद्धि हुने ६० देखि ७० प्रतिशतसम्म सम्भावना रहेको छ ।।
त्यस्तै, प्रदेश १ मा सरदरभन्दा बढी वर्षा हुने ४० देखि ५० प्रतिशत र कर्णाली र सुदूरपश्चिम प्रदेशमा कम वर्षा हुने ४० देखि ५० प्रतिशत सम्भावना रहेको अनुमान गरिएको छ। यी तीनबाहेक अन्य प्रदेशहरूमा भने कति वर्षा हुने भनेर प्रारूपहरुले स्पष्ट संकेत नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान विश्वमै महँगो प्रविधि मानिन्छ। त्यसका लागि दक्ष जनशक्ति आवश्यक पर्छ। सबै देशहरूसँग महँगो प्रविधि र दक्ष जनशक्ति नहुने भएकाले अमेरिका, चीन, बेलायत, रुस, जापान लगायत विकसित देशहरूले मात्र मौसमको पूर्वानुमान गर्दै आएका छन्। ती देशहरूले गर्ने मौसम पूर्वानुमान विश्व मौसम संगठनलाई उपलब्ध गराउँछन् र संगठनले ती विवरण अन्य देशहरूलाई उपलब्ध गराउँछन्।
"विश्व मौसम संगठनले उपलब्ध गराउने तथ्य नै हाम्रो प्रमुख स्रोत हो," जल तथा मौसम विज्ञान विभागको हावापानी विश्लेषण शाखाकी प्रमुख डा. इन्दिरा कँडेल भन्छिन्।
हिउँदमा २५.३ प्रतिशत मात्र वर्षा
यस वर्षको हिउँदमा औसतभन्दा कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, हिउँदमा १५.४ मिलिमिटर वर्षा भएको छ। यो सरदर वर्षाको २५.३ प्रतिशत हो। हिउँदमा ६०.९ मिलिमिटर वर्षालाई सरदर वर्षा मानिन्छ। गत वर्षको हिउँदमा २३२.३ मिलिमिटर वर्षा भएको थियो।
यसपालिको हिउँदमा भैरहवा, विराटनगर, जनकपुर जस्ता तराईका शहरमा वर्षाको स्थिति शून्य छ। भैरहवामा ४५ मिलिमिटर तथा विराटनगर र जनकपुरमा ३० मिलिलिटर वर्षा हुनु सरदर हो। तर, यी तीनै ठाउँमा यो हिउँदमा पानी नै परेन।
वर्षा भएका स्थानमा पनि सामान्य मात्र भएको छ। ताप्लेजुङमा ३२ मिलिमिटर अर्थात् ६१ प्रतिशत वर्षा भएको छ भने जुम्लामा ४५ प्रतिशत र लुम्लेमा ४१ प्रतिशत वर्षा भएको छ। यस्तै, दोलखाको जिरीमा १८ मिलिमिटर अर्थात् ३८ प्रतिशत वर्षा भएको छ। जब कि, जिरीको सरदर वर्षाको स्थिति ५० मिलिमिटर हो।
दाङमा ३८, ओखलढुंगामा १५ प्रतिशत (८ मिलिमिटर) मात्र वर्षा भएको छ। ४० मिलिमिटर वर्षा हुनुलाई सरदर मानिने काठमाडौं उपत्यकामा एक प्रतिशतभन्दा कम पानी परेको छ।
विभागको हावापानी विश्लेषण शाखाकी प्रमुख कँडेलका भनाइमा नेपालको मनसुनलाई प्रशान्त महासागरमा विकसित हुने मौसम गतिविधिले प्रभाव पार्छ। हिउँदमा जलवाष्प बोकेको हावा पश्चिमबाट पूर्वतिर बहन्छ र त्यसले वर्षा गराउँछ। तर, यस वर्षको हिउँदमा त्यस्तो हावा नेपालतर्फ आएन, जसका कारण कम वर्षा भयो।
कँडेल भन्छिन्, “भूमध्यरेखाको पूर्वी प्रशान्त महासागरमा यस वर्ष पानीको तापक्रम औसतभन्दा कम हुनपुग्यो, जसले हावाको बहावमा परिवर्तन गरेर पश्चिमी वायुलाई सक्रिय हुन दिएन।” यसलाई प्राविधिक भाषामा ‘लालिना प्रणाली’ विकसित भएको भनिन्छ। यो प्रणाली सक्रिय हुँदा नेपालमा पश्चिमबाट प्रवेश गर्ने वायुको प्रभाव घटेर वर्षा कम भएको हो।