पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई न्यूरोइन्डोक्राइन ट्युमर, छिट्टै शल्यक्रिया गर्नुपर्ने
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पाटीं (जसपा) संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई न्यूरोइन्डोक्राइन ट्युमर भएको पत्ता लागेको छ।
भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा गरिएको परीक्षणमा न्यूरोइन्डाेक्राइन कोषमा ट्युमर भएको पत्ता लागेको डा.भट्टराईले जनाएका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गर्दै उपचारमा संलग्न चिकित्सकले न्यूरोइन्डोक्राइन ट्युमर भएको जानकारी दिएको बताएका छन्।
डा.भट्टराईलाई ट्युमर भएको देखिए पनि क्यान्सर भने नभएको पुष्टि भएको छ। ‘‘बायोप्सी, डीएटीओ एनओसी परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउन्ड (ईयूएस), पीईटी सीटी स्केनसहित अन्य परीक्षणपछि चिकित्सकहरूले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका छन्,’’ प्रेस नोटमा भनिएको छ।
न्यूरोइन्डोक्राइन ट्युमर रगतमा रहेको न्यूरोइन्डोक्राइन कोषमा हुने गर्छ। यो शरीरका जुनसुकै भागमा पनि हुनसक्छ। प्रायः कमै मात्रमा हुने यो ट्युमर हर्मोन उत्पादन गर्ने कोषमा पनि हुने गर्छ।
डा.भट्टराईलाई भएको ट्युमरको छिट्टै शल्यक्रिया गर्नुपर्ने पनि चिकित्सकहरूले बताएका छन्। दुई–तीन महीनाभित्र शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएको प्रेस नोटमा जनाएको छ। छिट्टै शल्यक्रिया नगरिए क्यान्सर हुनसक्ने खतरा रहेको जनाएकाे छ।
डा.भट्टराई १० फागुनमा उपचारका लागि दिल्ली गएका थिए। उनी मंगलबार स्वदेश फर्किने भएका छन्।