बर्मामा शान्तिपूर्ण प्रदर्शनमाथि सुरक्षाकर्मीले गोली चलाउँदा १८ जनाको मृत्यु
बर्मामा शान्तिपूर्ण प्रदर्शनमाथि सुरक्षाकर्मीले गाेली हानेका छन्। सुरक्षाकर्मीको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु भएको छ।
बर्माको सेनाले १९ माघमा सत्ता हातमा लिएपछि बर्मेली नागरिकले शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्। १५ र १६ फागुनमा देशका प्रमुख शहरमा ठूलाठूला प्रदर्शन भएका छन्। सोमबार पनि बिहानैदेखि प्रदर्शन हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
आइतबार योङ्गुन, डवेइ र मन्डलेमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले व्यापक धरपकड गरेका छन्। सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका छन्। गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु भएको बर्मास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकारको कार्यालयले जनाएको छ।
सुरक्षाकर्मीको गोली लागी ३० जना घाइते भएका छन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ। केहीको छाती र टाउकामा गोली लागेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नेत्री सु चीकाे नेपाल सम्बन्ध
केही दिनयता सुरक्षाकर्मीले बल प्रयोग गर्न थालेका छन्। तैपनि बर्मेली नागरिक सडकमा आउन छोडेका छैनन्। उनीहरुले सेनाले सत्ता फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने जनाएका छन्।
गत १९ माघमा बर्माको सेनाले सत्ता कब्जा गरेर एक वर्षका लागि संकटकाल घोषणा गरेको थियो। सेनाले नेसनल लिग फर डेमोक्रेसीकी नेत्री आङ सान सु ची, राष्ट्रपति विन मिन्टसहित मन्त्री र सांसदहरुलाई गिरफ्तार गरेको थियो। सांसदहरुलाई रिहा गरेको भए पनि सु ची र राष्ट्रपति मिन्टलाई छोडेको छैन। नेत्री सु चीलाई नजरबन्दमा राखेको छ।
प्रदर्शनकारीले नेत्री सु चीलाई नजरबन्दमुक्त गर्न माग गरिरहेका छन्।
सन् २०११ देखि प्रजातान्त्रिक अभ्यास गर्न थालेको बर्मामा फेरि सेनाले सत्ता हातमा लिएको हो। सेनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरी सन् १९६२ देखि २०११ सम्म शासन चलाएको थियो।