भारतका निजी अस्पतालमा रु.४०० मा कोरोना खोप लगाइँदै
भारतमा निजी अस्पतालमा पनि कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ। यसका लागि रु.४०० तोकिएको छ।
भारतमा सोमबारदेखि अर्को चरणको खोप अभियान सञ्चालन गरिँदै छ। यो चरणका लागि निजी अस्पतालमा पनि खोप लगाउने व्यवस्था गरिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस चरणको खोप लगाउन भारतले ६ हजार सरकारी अस्पतालमा खोप केन्द्र तोकेको छ। जहाँ पहिलो प्राथमिकतामा परेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइनेछ। यससँगै ४५ देखि ६० वर्षका नागरिकलाई पनि खोप लगाउने तयारी छ। सरकारी अस्पतालमा भने नि:शुल्क खाेप लगाइनेछ।
यो चरणमा निजी अस्पतालमा पनि खोप लगाउन सकिनेछ। भारतले १० हजार निजी अस्पतालाई खोप लगाउन अनुमति दिएको छ।
निजी अस्पतालमा एक डोजको रु.४०० सय शुल्क तोकिएको छ। यससँगै सेवा शुल्कबापत थप रु.१६० सम्म लिन सक्नेछन्।
अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको खाेपलाई भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेकाे छ। जसलाई भारतमा ‘कोभिसिल्ड’ नाम दिइएकाे छ। त्यस्तै भारत बायोटेकले उत्पादन गरेको ‘कोभ्याक्सिन’ खोप पनि रहेकाे छ।
यो चरणमा २७ करोड नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ।
भारतमा अहिले कोरोना संक्रमितको संख्या १ करोड १० लाख ९६ हजार ४४० पुगेका छन्। जसमध्ये १ लाख ५७ हजार ८७ जनाको मृत्यु भएको छ।
अहिलेसम्म १ करोड ७ लाख ७३ हजार २७५ जना निको भएका छन्। त्यस्तै, १ लाख ६६ हजार ७८ जना उपचारका क्रममा छन्। त्यसमध्ये ८ हजार ९४० जना गम्भीर रहेका छन्।
भारतमा फेरि कोरोनाको संक्रमण बढ्न थालेको छ। महाराष्ट्र, दिल्लीलगायतका ६ राज्यमा संक्रमण बढ्न थालेको हो।