नेकपाको आधिकारिकता विवाद टुङ्ग्याउन निर्वाचन आयोग छलफलमा
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद निरुपण गर्न सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताएको छ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेपछि निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्नुपर्ने चाप हटेपछि समयका हिसाबले केही सहजता भएको भन्दै आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाको आधिकारिकता विवाद छिटै टुङ्ग्याएर निकास दिने क्रममा रहेको बताए।
“दलसम्बन्धी विषयमा दर्ता भएको निवेदनमा आयोगबाट अध्ययन, परामर्श भइरहेको छ," श्रेष्ठले भने, "यो विषयमा पक्षसँग औपचारिक र अनौपचारिक रुपमा छलफल जारी छ।”
सरकारले गत ५ पुसमा आगामी वैशाख १७ र २७ गते प्रतिनिधि सभा सदस्य निर्वाचन घोषणा गरेसँगै आयोगले आन्तरिक तयारी तीव्र पारेको थियो। संसद् पुनःस्थापनाको निर्णयपछि औपचारिक पत्र प्राप्त नभए पनि आयोगले निर्वाचनका सम्पूर्ण क्रियाकलाप रोकिसकेको छ। निर्वाचन सामग्री खरीदका लागि प्रकाशित बोलपत्र पनि आयोगले रद्द गर्न लागेको बताइएको छ।
निर्वाचन तयारी क्रममा मतदाता नामावली अद्यावधिक, निर्वाचनस्थल र केन्द्र पुनरावलोकनका काम अन्तिम चरणमा पुर्याएको थियो। ऐन अनुसार निर्वाचन घोषणा भएसँगै स्थगन भएको मतदाता नामावली दर्ता कार्यक्रम पनि अब केही समयपछि नै खुला हुनेछ।
प्रतिनिधि सभा निर्वाचनका लागि अर्थ मन्त्रालयबाट रु. ७ अर्ब ७ करोड ९० लाख ८० हजार बजेट सुनिश्चित भई केही रकम निकासा समेत भएको थियो। आयोगले प्राप्त रकममध्ये ७७ जिल्ला निर्वाचन कार्यालयलाई उपकरण, सवारीसाधन मर्मत, इन्धन, बिजुली लगायत शीर्षकमा रु. ४ करोड १७ लाख ९० लाख पठाएको थियो।
आयोग केन्द्रीय कार्यालयमा पनि उपकरण मर्मत, सवारीसाधन मर्मत लगायत प्रशासनिक र सचिवालयका काममा यकिन नभए पनि जिल्लामा पठाएकै बराबर खर्च भएकाे प्रवक्ता श्रेष्ठले जानकारी दिए।
(रासस)