पीएसएल खेल्न सन्दीप पाकिस्तानतर्फ
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने ‘पाकिस्तान सुपर लिग (पिएसएल)’ खेल्न शनिबार पाकिस्तानतर्फ प्रस्थान गरेका छन्।
लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पीएसएल खेल्ने पक्का भएको हो। उनलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो।
जिम्बावेविरुद्धको टेस्ट र टी-२० सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पीएसएल छोड्नुपरेको हो। राशिदको स्थानमा लाहोरले लामिछानेलाई छनोट गरेको हो।
उनी कतार एअरवेजमार्फत दोहा हुँदै कराँचीतर्फ पुग्नेछन्। यसअघि लामिछाने पीएसएलको ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम श्रेणीमा दर्ता गराएका थिए।
ड्राफ्टमा नेपालबाट लामिछानेसँगै पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अभिनास बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख समावेश थिए।
लाहोर कलन्दर्सले जारी प्रतियोगिताका तीन खेलमा दुईमा जीत तथा एकमा हार व्यहोरेको छ। लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ।
उनले यसअघि सन् २०१९ मा पनि लाहोरबाट नै खेलेका थिए। उनले सात खेलमा ११ विकेट लिएका थिए।