प्रतिनिधि सभा बैठक २३ फागुनमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश
सरकारले प्रतिनिधि सभाको बैठक २३ फागुनमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठकका लागि सिफारिश गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको आदेश अनुसार प्रतिनिधि सभाको बैठक २३ फागुनमा बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गराएका थिए। त्यसका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए।
रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ११ फागुनमा सरकारको प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेको थियो। साथै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो।
सर्वोच्चको आदेशअनुसार सरकारले २३ फागुनमा प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिश गरेको हो।