विवेकशील साझाको आग्रह- प्रधानमन्त्री र राष्ट्रपति राजीनामा देऊ
विवेकशील साझा पार्टीले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदरको फैसला गरेपछि प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएको छ।
बुधबार विज्ञप्ति जारी गर्दै विवेकशील साझाले प्रधानमन्त्री र राष्ट्रपतिलाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेको हो। अदालतको फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको उक्त पार्टीको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, "विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि अवाञ्छित चलखेल नगरी संसद्बाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्छ।"
यस्तै, विवेकशील साझाले संविधानको रक्षा गर्ने दायित्वलाई ख्याल नगरी प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक असंवैधानिक कदमलाई साथ दिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ। "अन्यथा राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई हामी आह्वान गर्दछौँ," विज्ञप्तिमा भनिएको छ।
पछिल्ला राजनीतिक घटनाक्रममा भण्डारीको भूमिका र नेपालको राष्ट्रपति संस्थाको आजसम्मको अभ्यासको पुनरावलोकन गर्दा राजनीतिक दलमा असम्बद्ध व्यक्तिले मात्र उक्त पदको गरिमा र मर्यादा अक्षुण्ण राख्न सक्ने देखिएको विवेकशील साझाको भनाइ छ।
विवेकशील साझाले संसद् विघटनपछि असंवैधानिक ढंगले गरिएका सम्पूर्ण नियुक्ति खारेज गर्न पनि माग गरेको छ।