ओली समूहले बोलायो स्थायी कमिटी बैठक
सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल गर्न नेकपा (ओली) समूहले स्थायी कमिटीको बैठक बोलाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेको छ। यसै विषयमा छलफल गर्न ओली समूहले बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको हो।
बैठकमा सर्वोच्चको फैसलापछिको राजनीतिक परिस्थिति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने नेकपाका एक नेताले बताए। ती नेताका अनुसार आकस्मिक बैठक भएकाले एजेन्डाका विषयमा जानकारी दिइएको छैन।
प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आगामी १७ र २७ वैशाखमा निर्वाचतकाे मिति घोषणा गरेकी थिइन्।
यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए। त्यसमाथि लामो बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटनकाे निर्णय बदर गर्ने फैसला सुनाएको थियो।
सर्वाेच्चले बहुमतकाे प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएकाे पनि उल्लेख गरेकाे छ। यससँगै सर्वोच्चले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि आदेश गरेको छ।
सर्वाेच्चकाे फैसलालाई सबै दलले स्वागत गरे पनि ओली समूहले भने असन्तुष्टि जनाएकाे छ। यसले अस्थिरता निम्त्याउने उनीहरूकाे तर्क छ।