किसानको साथी सालक
संसारभर चोरी शिकारीबाट अति संकटापन्न (क्रिटिकल्ली इन्डेन्जर्ड) भएको वन्यजन्तु हो–सालक। यो प्याङ्गोलिनको नामबाट चिनिन्छ।
एसिया र अफ्रिकामा सालका ८ प्रजाति अस्तित्वमा छन्। तर, प्रत्येक दिन संसारभर ३०० वटा सालक मारिने अनुमान छ। नेपालमा कालो खबटा भएको चाइनिज प्याङ्गोलिन र फुस्रो खबटा भएको इन्डियन प्याङ्गोलिन पाइन्छ। तीमध्ये चाइनिज प्याङ्गोलिन विश्वकै अति संकटापन्न सूचीमा पर्छ। नेपालमा पाइने स्तनधारीमध्ये यो एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो।
विश्वमै सालक प्रजातिहरू गम्भीर जोखिममा परेकाले संसारभर फेब्रुअरी महिनाको तेस्रो शनिबार सालक दिवस मनाइन्छ, अर्थात् आज ४ फागुन।
आज नेपाल सरकार तथा वन्यजन्तु संरक्षण सम्बन्धी विभिन्न संघ, संस्थाहरूले ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको खुमलटार हाताभित्र एक कार्यक्रमबीच सालक दिवस मनाउँदैछन्। संविधानसभाका पूर्व अध्यक्ष एवं सांसद सुवास नेम्बाङबाट उद्घाटन हुने कार्यक्रममा विश्वकै निम्ति पहिलो ‘प्याङ्गोलिन मोनिटरिङ गाइडलाइन्स फर नेपाल’ शीर्षकको पुस्तक पनि लोकार्पण हुँदैछ।
नेपालमा सालक
सालक नेपालको संरक्षित वन्यजन्तु हो। संरक्षित वन क्षेत्रसँगै सामुदायिक वनमा सालक बढी मात्रामा पाइन्छ। यो वन्यजन्तुले अक्सर घमाइलो र जुका नलाग्ने ठाउँमा बासस्थान बनाउँछ । समुद्रबाट करिब दुई हजार मिटरसम्मको उचाइमा विशेष गरी सालको जंगलमा सालक पाइने गरेको छ।
सालक अनुसन्धानमा क्रियाशील साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रका अनुसार नेपालका ४३ जिल्लामा सालक पाइन्छ। सरकारको प्याङ्गोलिन संरक्षण कार्ययोजना (सन् २०१८–२०२२) अनुसार चाइनिज प्याङ्गोलिन भक्तपुर, बागलुङ, चितवन, धादिङ, धनकुटालगायत २३ जिल्लामा पाइन्छ भने इन्डियन प्याङ्गोलिन कञ्चनपुर, बारा, पर्सा, सुर्खेतलगायत सात जिल्लामा र डडेल्धुरा, सल्यान, म्याग्दी, कास्की, नुवाकोट, सिरहा, मोरङ लगायत १४ जिल्लामा दुवै या एक प्रजातिको सालक पाइने उल्लेख गरेको छ।
आकृति र प्रकृति
झट्ट हेर्दा न्याउरी मुसाजस्तो देखिने यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा कत्ला (खबटा) हुन्छ। यो सानो डाइनोसोरजस्तो पनि देखिन्छ। सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ। यो पुच्छरको सहायताबाट रूखको हाँगामा झुन्डिन सक्छ। सालकको दाँत हुँदैन, जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ। यसको रंग माटोसँग मिल्दोजुल्दो देखिन्छ।
आहाराको खोजीमा रातमा मात्र निस्कने गर्छ। कतैबाट आक्रमण वा खतरा महशुस भयो भने यो भाग्दैन तर भकुन्डाेको आकारमा थुतुनो केन्द्रमा पारेर गुजुल्टिएर बस्छ। खतरा महसुस नभए बिस्तारै गुजुल्टोबाट आफूलाई फुकाउँछ।
अवैध शिकार
विशेषगरी चीन, भियतनाममा औषधि बनाउन र मासु उत्पादनका लागि सालकको बढी माग हुन्छ। चीन र भियतनामका धेरैजसो रेस्टुरेन्टमा सालकको मासु खानु प्रतिष्ठासँग जोडेर हेर्ने चलन छ। त्यसैगरी यसको शरीरमा हुने खबटा बुलेट–प्रुफ ज्याकेट तथा उच्च कोटिको टाँक बनाउन र महँगा सौन्दर्यका सामग्री बनाउन प्रयोग हुन्छ।
नेपालमा २०६९ देखि २०७५ साउन मसान्तसम्म प्रहरीले सालकको खपटा मात्रै १०० केजी बरामद गरेको छ। चोरी शिकारी बाहेक नेपालमा अन्धविश्वासका कारण पनि सालकको शिकार हुने गरेको छ।
कतिपय स्थानमा सालक देखिए अपशकुन हुन्छ भन्ने मानसिकता छ। म सन् २०१४ मा सालकको अध्ययनका क्रममा धनकुटा पुगेको थिएँ। त्यहाँ हाटमा आठपहरीया समुदायकी एक महिलालाई सालकको तस्बिर देखाउँदा ‘अपशकुन हुन्छ’ भनेर हेर्न समेत मानिनन्।
कतिपय स्थानमा सालकको मासु खाए दीर्घरोग निको हुने, खपटे बाधनाले बाछा बिरामी नहुने र कहीँ सालकको मासु खाए सुत्केरीको साल छिटो झर्छ भन्नेसम्मको अन्धविश्वास छ। तर आजकाल सालकलाई अन्धविश्वासका कारणले भन्दा पनि यसको व्यापारबाट पैसा मनग्गे आम्दानी हुने हेमबहादुर कटुवाल, हरिप्रसाद शर्मा र कञ्चन पराजुलीको सन् २०१७ मा प्रकाशित सालक सम्बन्धी लेखमा उल्लेख छ।
जलवायु परिवर्तन, जनचेतनाको कमी, साँघुरिँदो बासस्थान, डढेलो, वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, विषादी खाएर मरेका कीरा खानाले हुने मृत्यु आदि सालकको चोरी सिकारीसँगै थप चुनौतीका रूपमा रहेका छन्।
संरक्षण
सालक किसानको साथी हो, यसले खेतीबाली र उत्पादनलाई नोक्सान गर्ने जीवलाई खाएर नियन्त्रण गर्छ। एउटा वयस्क सालकले एक दिनमा दुई लाख ३० हजार र वर्षमा करिब सात करोडसम्म त्यस्ता कमिला र धमिरा खाने गर्दछ। त्यसो नगर्ने हो भने किरा र कमिलाका कारण हाम्रा बालीनाली फस्टाउन सक्दैनथे। यसले जमिन खोस्रेर उर्वरा बनाउँछ। यसैकारण सालक जोगाउन आवश्यक छ।
सालक मार्ने र व्यापार गर्ने काममा तपाईं हामीले चिनेका व्यक्तिहरू संलग्न भइरहेका हुन सक्छन। सालक हाम्रो संरक्षित वन्यजन्तु हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ अनुसार सालक मार्ने, खरीदबिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि १० लाख रूपैयाँसम्म जरिवाना वा पाँचवर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ भनेर सचेत गराउनुपर्छ ।