मंंगल ग्रहबाट यानले पठायो अद्भुत तस्वीर
अमेरिकी स्पेस एजेन्सी नासाको ‘पेर्सवेरेन्स रोभर’ यानले मंगल ग्रहबाट अद्भुत तस्वीरहरू पठाएको छ।
नासाको ‘पेर्सवेरेन्स रोभर’ ६ फागुनमा मंगल ग्रहमा अवतरण गरेको थियो। त्यसको २४ घन्टाभित्रै आज तस्वीरहरू पठाएको हो।
नासाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। मंगल ग्रहबाट पठाएका तस्वीरहरू पेर्सवेरेन्स रोभरको ट्वीटर एकाउन्टबाट ट्वीट पनि गरिएका छन्। कुनै अर्को ग्रहबाट पहिलो पटक पृथ्वीमा तस्वीरहरू आएका हुन्।
पेर्सवेरेन्स रोभरमा २५ वटा क्यामरा र दुई वटा माइक्रोफोन जडान गरिएका छन्। मंगल ग्रहमा अवतरण गर्ने वेला सबै क्यामरा अन गरिएका थिए। अहिले पेर्सवेरेन्स रोभरले पठाएका फोटो ‘स्काइ क्रेन’ नामको क्यामराले खिचेका हुन्।
यो सेल्फी खिच्ने जस्तै गरी पेर्सवेरेन्स रोभरभन्दा केही माथि जडान गरिएको छ। अहिले आएका तस्वीरहरू मंगल ग्रहमा अवतरण गर्नुभन्दा अघिका हुन्। जति बेला यो १२०० माइल प्रतिघन्टाका दरले अवतरण गरिरहेको थियो।
यी यसअघि नदेखेका तस्वीर भएको नासाका स्काई सिस्टम इन्जिनियर आरोन स्टुअराले बताएका छन्। पत्रकार सम्मेलनमा उनले मंगल ग्रहकाे फोटो खिचेर संसारलाई देखाउन पाउँदा जित महसुस भइरहेको बताएका छन्।
नासाले केही दिनभित्रै थप तस्वीर र सम्भवतः अडियो पनि आउने जनाएको छ।