प्रि-मनसुन नजिकिँदै, अबका केही दिन मौसम सफा रहने
प्रि-मनसुन नजिकिँदै आएकाले साँझ-बिहान मौसममा परिवर्तन आएको भए पनि अबका केही दिन भने मौसम सफा रहने भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशको अधिकांश भूभागमा मौसम सफा हुने जनाएको छ। तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुने क्रम चलिरहने मौसमविद् वरुण पौडेलले बताए। “आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ,” पौडेलले भने।
केही दिनयता अपराह्न तथा साँझपख मौसम बदली भई हल्का वर्षा हुँदै आएको थियो। प्रि-मनसुनको समय नजिकिएकै कारण अपराह्न तथा साँझपख मौसममा परिवर्तन भएको मौसमविद् पौडेलको भनाइ छ।
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १, बाग्मती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आइतबार देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री र अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस रहेको छ। (रासस)