राष्ट्रिय महिला लिग : घाइते सावित्राले बाँकी खेल गुमाउने
विभागीय टोली एपीएफ क्लबकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले राष्ट्रिय महिला लिगका बाँकी खेल गुमाउने भएकी छिन्। उनी सोमबार खेलका क्रममा घाइते भएकी हुन्।
एपीएफ राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पुगेको छ। यसमा भण्डारीको महत्वपूर्ण भूमिका छ।
उनी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी हुन्। खेलको ६९औँ मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएकी थिइन्। खुट्टामा चोट लागेकी भण्डारीले त्यसपछि मैदान छोडेकी थिइन्।
एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदानबाहिर बस्ने भन्ने यकिन हुने एपीएफकी मुख्य प्रशिक्षक भगवती थापाले बताइन्। हरेकजसो खेलमा गोल गर्दै आएकी भण्डारीले सोमबार भने गोल गर्न सकेकी थिइनन्।
उनले अहिलेसम्म १० खेलमा ४३ गोल गरेकी छिन्। जारी महिला लिगमा यही नै उत्कृष्ट खेल प्रदर्शन हो। एपीएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अङ्क जोडेको छ।
एपीएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ। अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ।
त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अङ्क जोडेको छ। आर्मी लिगको दोस्रो स्थानमा छ।
एपीएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ। सोमबारको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो।