विद्यालयमा ‘जङ्क फुड’ निषेध, विद्यार्थीलाई दिवाखाजा खुवाउन ६० प्रकारको ‘मेनु’
सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले सार्वजनिक विद्यालयमा दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको हो। केन्द्रले विद्यालयमा दिवाखाजा खुवाउनका लागि ‘मेनु’ पनि तयार गरेको छ।
केन्द्रले ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ सार्वजनिक गरेर सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजाको ‘मेनु’ निर्धारण गरेको हो। स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेकाे छ।
सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि रु. सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको केन्द्रले जनाएको छ। त्यसअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइनेछ।
सरकारले कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक रु. २० र अन्य क्षेत्रमा विद्यार्थीलाई रु. १५ का दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको छ। (रासस)