कोभिड-१९ को असरबाट उम्किदै अर्थतन्त्र, यस्तो छ आधा वर्षको तथ्यांक
कोरोनाभाइरसका कारण गत वर्षको चैत यता थला परेको अर्थतन्त्र फेरि पुरानै गतिमा चलायमान हुन थालेको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महीनाको तथ्यांकले अर्थतन्त्रमा सुधार आएकाे देखाएको हाे।
राष्ट्र ब्यांककाे तथ्यांकअनुसार, पूँजी निर्माण गर्ने मेसिनरी र पार्ट्स आयात पूर्ववत् अवस्थामा फर्किएको छ। पुसमा रु.१८ अर्ब ५० करोडको यस्ता वस्तुको आयात भएको थियो। गत वर्षको यही अवधिमा रु.१६ अर्बको मात्रै यस्ता वस्तुको आयात भएको थियो।
पुसमा रु.५५ अर्ब १ करोडको औद्योगिक सामाग्री आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिमा रु.४१ अर्ब ६ करोडको मात्रै आयात भएको थियो। यातायात र यसमा पार्ट्सकाे आयात पनि रु.९ अर्ब ५ करोड पुगेको छ, जुन अघिल्लो वर्षको यही अवधिका तुलनामा धेरै हो।
निर्माण सामाग्रीको आयात उल्लेख्य बढेको छ। यसले निर्माणका गतिविधि सुचारु भएको संकेत गर्छ। पुससम्ममा सिमेन्टको आयात अघिल्लो वर्षका तुलनामा ११.५ प्रतिशतले, कोइला १५ प्रतिशतले तथा इनामेल र पेन्ट्स ३१.५ प्रतिशतले बढेकाे छ। त्यस्तै, विद्युतीय सामाग्री २.५ प्रतिशतले र फलामे डण्डी बनाउन प्रयोग हुने एमएस बिलेट ३४ प्रतिशतले आयात बढेका छन्।
पुससम्ममा ब्यांक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा अघिल्लो वर्षको यही अवधिकाे तुलनामा ११.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो। पुस महीनामा मात्रै निजी क्षेत्रतर्फको कर्जा रु.१ खर्ब ४० अर्ब बढेकोे छ, जुन अघिल्लो वर्षका तुलनामा दोब्बर बढी हो।
वार्षिक विन्दुगत आधारमा पुस मसान्तसम्ममा ब्यांक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको छ। निजी क्षेत्रतर्फको कर्जा विस्तारले आर्थिक क्रियाकलाप चलायमान भइरहेको संकेत गर्छ।
वार्षिक विन्दुगत आधारमा पुस मसान्तसम्ममा ब्यांक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको छ। निजी क्षेत्रतर्फको कर्जा विस्तारले आर्थिक क्रियाकलाप चलायमान भइरहेको संकेत गर्छ। राष्ट्र ब्यांकको केही समयअगाडिको अध्ययनले पनि उद्योग व्यवसायहरु चलायमान भइरहेको देखाएको थियो। पछिल्लाे समय पर्यटनबाहेकका अन्य उद्योग व्यवसाय क्रमशः लयमा फर्किइरहेका छन्।
सरकारको राजस्व परिचालन भने गत वर्षको तुलनामा सामान्य घटेको छ। पुसमा रु.१ खर्ब २१ अर्ब राजस्व संकलन भएको छ। अघिल्लो वर्षको पुसमा रु.१ खर्ब २४ अर्ब राजस्व संकलन भएको थियो।
अर्थतन्त्रका वृहत् सूचकहरु पनि सन्तोषजनक रहेको तथ्यांकले देखाएको छ। पुससम्ममा देशको शोधनान्तर स्थिति करीब रु.१ खर्ब २५ अर्ब बचतमा छ। गत वर्षको यही अवधिमा शोधनान्तर स्थिति रु.२६ अर्ब ६५ करोड बचतमा थियो। एक देशले अर्को देशसँग गर्ने वित्तीय लेनदेनको हिसाबकिताबलाई शोधनान्तर स्थितिले संकेत गर्छ। शोधनान्तर स्थिति लगातार ठूलो मात्रामा घाटामा जानु अर्थतन्त्रका लागि चुनौतिपूर्ण अवस्था मानिन्छ।
देशबाट बाहिरिने रकमका तुलनामा भित्रिने रकम बढी भएमा शोधनान्तर स्थिति सकारात्मक हुन्छ। तर, भित्रिनेभन्दा बाहिरिने रकम बढी भएमा शोधनान्तर घाटा हुन्छ। विदेशबाट वस्तु र सेवा आयात, वैदेशिक भ्रमण तथा शिक्षा, हवाई यातायातको टिकट खरिद आदिका लागि रकम बाहिरिन्छ। विदेशमा गरिने वस्तु र सेवाको निर्यात, पर्यटकले ल्याउने रकम, रेमिटेन्स, प्रत्यक्ष वैदेशिक लगानी आदिमार्फत रकम भित्रिन्छ।
शोधनान्तर स्थिति बचतमा भए पनि देशको चालु खाता भने पुससम्ममा रु.४९ अर्ब ५३ करोडले घाटामा छ। गत वर्षको यही अवधिमा यस्तो घाटा रु.७९ अर्ब ६५ करोड थियो। चालु खाताले वैदेशिक कारोबारमा खर्च र आम्दानीको अन्तरलाई जनाउँछ। चालु खाता सकारात्मक भएमा देशले लगानीभन्दा बचत गरेको देखाउँछ।
वैदेशिक रोजगारीमा गएका नेपालीले पुससम्ममा रु.४ खर्ब ९५ अर्ब ३१ करोड रेमिटेन्स भित्र्याएका छन्। यो गत वर्षको यही अवधिका तुलनामा ११.१ प्रतिशत धेरै हो। अमेरिकी डलरमा पनि रेमिटेन्सको आप्रवाह ६.७ प्रतिशतले बढेको छ। कोभिड–१९ का कारण नेपालको वैदेशिक मुद्राको प्रमुख स्रोत रेमिटेन्सको भर डगमगाउने अनुमान थियाे। तर, त्यसविपरित रेमिटेन्सको आप्रवाह बढ्दै आएको छ।
रेमिटेन्सको भर नर्धमराएका कारण देशको वैदेशिक मुद्राको भण्डार थप बलियो हुँदै पुससम्ममा १२ अर्ब ७८ करोड डलर पुगेको छ। नेपाली मुद्रामा यस्तो सञ्चिती रु.१४ खर्ब ९४ अर्ब बराबर हो। यो सञ्चितीले १२.६ महीनाको वस्तु र सेवाको आयात थेग्छ। अर्थशास्त्रीहरु सामान्यतयाः देशसँग ६ महीना बराबरको वस्तु र सेवा आयात धान्ने विदेशी मुद्राको सञ्चिती हुनुपर्ने बताउँछन्।
यो आर्थिक वर्षको पहिलो ६ महीनामा देशको वस्तु निर्यात ६ प्रतिशतले बढेर रु.६० अर्ब ८० करोड पुगेको छ। आयात भने अघिल्लो वर्षका तुलनामा ४.८ प्रतिशत घटी अर्थात रु.६ खर्ब ६१ अर्ब छ। आयात धेरै तर, निर्यातको परिमाण सानो हुँदा पहिलो ६ महीनामैं देशको व्यापार घाटा ६ खर्बभन्दा धेरै छ।
पुससम्ममा वैदेशिक सहायता अघिल्लो वर्षका तुलनामा ९.८ प्रतिशतले घटेर रु.२६ अर्ब ४७ करोड आएको छ। त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी २४ प्रतिशतले घटेर रु.८ अर्ब ५ करोडको मात्र आएको छ।
राष्ट्र ब्यांकको तथ्यांकअनुसार, पुसमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५६ प्रतिशतमा सीमित छ। अघिल्लो वर्षको यही अवधिमा मुद्रास्फिति ६.८२ प्रतिशत थियो। २०७६ पुसकोे तुलनामा २०७७ पुसमा सबैभन्दा धेरै घ्यू तथा तेलको मूल्य १७ प्रतिशत, फलफूलको मूल्य १६.५ प्रतिशत, दाल तथा गेडागुडीको मूल्य ११.५ प्रतिशत तथा मासु तथा माछाको मूल्य करीब ११ प्रतिशतले बढेको छ।