शीतलहरमा घुर ताप्दा डेढ महीनामा नौको मृत्यु, सात महिला
शीतलहरको चिसो छल्न घुर ताप्दा डेढ महीनाको अवधिमा तराई-मधेशमा नौ जनाको ज्यान गएको छ। उनीहरुमध्ये सात जना महिला छन्।
यतिवेला तराई-मधेशमा शीतलहर चलेको छ। जसका कारण चिसो अत्यधिक बढेको छ। चिसो छल्न घुर बाल्ने गरिन्छ। भिडियो म्यागजिन ‘सग्लो समाज’ले तयार पारेको रिपोर्ट अनुसार, घुर ताप्दा १ पुसयता २८ जना जलेर घाइते भएका छन्। जसमा २६ जना महिला छन्।
त्यस्तै, जलेर घाइते भएकामध्ये नौ जनाको मृत्यु भएको छ। उनीहरुमध्ये सात जना महिला छन् भने एक बालकसहित दुई जना पुरुष छन्। आगो ताप्ने क्रममै लुगाबाट सल्केको आगोले जलाएको हो।
शीतलहर छल्न धुर ताप्दा थुप्रै ठाउँमा आगलागी पनि भएको छ। गत डेढ महीनामा आगलागी हुँदा नौ वटा घरगोठ जलेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, शीतलहरले गर्दा १८ माघसम्म एकजनाको ज्यान गएको छ। शीतलहरले चिस्याएको शरीर तताउन घुर ताप्ने क्रममा जलेर मरेका नौ जनालाई शीतलहरले गर्दा ज्यान गुमाएको ठानिएको छैन। शीतलहरले जटिल बनाएको स्वास्थ्य समस्याले गर्दा ज्यान गएकालाई पनि शीतलहरबाट मृत्यु भएकाहरुको सूचीमा राख्ने गरिएको छैन।
शीतलहरले आलु, दाल, गहुँ र तरकारी खेतीमा पनि असर गरेको छ। महोत्तरीको मटिहानीका मोरल मण्डल भ्रन्छन्, ‘‘शीतलहरले गहुँ पहेँलो भएको छ। बाक्लो कुहिरो लागेकाले यसो भएको हो।’’
यसले अन्न उत्पादन कम हुने उनी बताउँछन्। मण्डल भन्छन्, ‘‘यसो हुँदा बालीमा किरा लाग्छ। कुनै बालीलाई राम्रो गर्दैन।’’ शीतलहरले असर गर्दा पनि कसैले राहत नदिएको उनको गुनासो छ।
महोत्तरीको अनैठाका सनिचरी सदाको पनि शीतलहरले असर गर्दा राहत नपाएको गुनासो छ। उनी भन्छिन्, ‘‘चिसोले अनुहार सुन्निन्छ। सरकारी मान्छेले पीडितको नाम लेखेर लान्छ, तर राहत दिँदैन।’’
यसले गरीब र विपन्नलाई झन् असर पारेको छ। प्रदेश २ को नीति आयोगको प्रतिवेदन अनुसार, यहाँका ४७.९ प्रतिशत मानिसले पेटभर खान पाएका छैनन्, उनीहरुसँग जाडो छेक्ने घर र लुगाफाटो छैन। बिरामी हुँदा उनीहरु उपचार गराउन सक्दैनन्। यहाँको गरीबी नेपालको औसत गरीबीभन्दा झण्डै दोब्बर छ।
प्रदेश २ भित्र पनि गरीबीको मात्रा रौतहट र महोत्तरीमा सबैभन्दा बढी छ। महोत्तरीको सदरमुकाम जलेश्वरको खैरामा मुसहर समुदायका ९० घर छन। यो पूरै बस्ती ऐलानी जग्गामा बसेको छ। यहाँ बिजुली छैन। जलेश्वरका अरु ठाउँका दलित समुदायले ग्यास सिलिन्डर र चुलो पाएका छन्, तर यहाँका मानिसले त्यो सुविधा पनि पाएका छैनन्।
स्थानीय विपतिया सदा दुई वर्षदेखि समस्या झेलिरहेको बताउँछिन्। ‘‘घरको छाना छैन। बालबालिकालाई चिसो लाग्छ। गाईबस्तुलाई पनि चिसो लाग्छ। चिसो लागेर केही मानिस मरे।’’
जनता आवास कार्यक्रम मार्फत जस्ताको छाना लगाउन पनि आलटाल भएको उनी गुनासो गर्छिन्। ‘‘त्रिपाल छैन। चिसोले हामी सबैलाई समस्या पारेको छ,’’ उनी भन्छिन।
शीतलहरले तराई-मधेशका लाखौँ मानिसलाई पारेको प्रभावबारे विस्तृत आज बेलुका ८:३० बजे डिसहोम च्यानल १३० (सरोकार टीभी) बाट प्रसारण हुने भिडियाे म्यागेजिन ‘सग्लो समाज’मा हेर्न र सुन्न सकिनेछ।